काठमाडौं– ललितपुरको ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी जलाएपछि उत्पन्न परिस्थितिबीच २ जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।
गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए। समितिमा डीआईजी आचार्यसँगै ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु सिग्देल छन्।
मन्त्रीको गाडी जलाएपछि उत्पन्न स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाएको थियो। उक्त घटनामा सुजन रावत र वीरेन्द्र शाह नाम गरेका दुई युवाको मृत्यु समेत भएको छ।
मन्त्री ज्वालाले प्रयोग गर्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी भएको थियो। रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत् कोरिया जान नपाउने तथा भाषा परीक्षामा सहभागी हुन नपाएको भन्दै युवाहरुले शुक्रबार मध्याह्न कोटेश्वर–बालकुमारी–सातदोबाटो सडक कब्जा गरी उग्र प्रदर्शन गरेका थिए। सोही क्रममा मन्त्रीको गाडी उक्त स्थानमा पुगेपछि युवाहरुको समूहले जलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।