रामबाबु गुरुङ निर्देशित 'डिग्री माइला'को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ।
सार्वजनिक पोस्टरमा फिल्ममा मुख्य पात्र 'डिग्री माइला' बनेका दयाहाङ राईलाई एकल रुपमा प्रस्तुत गरिएको छ।
पोस्टरमा उनलाई काठको बेन्चीमा गम्भीर मुद्रामा केही सोचिरहेको अवस्थामा देख्न सकिन्छ। चश्मा लगाएका र जुँगा पालेका दयाहाङलाई अहिलेसम्मको भिन्न लुक्समा देख्न सकिन्छ।
बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ।
सोही नाटकलाई फिल्मका रुपमा पर्दामा प्रस्तुत गर्न लागेको बताइन्छ। फिल्मले 'डिग्री माइला'को माध्यमबाट बेरोजगारीसँगै नेपाली समाजको चित्र पस्किनेछ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्ले फिल्ममा निर्माणका लागि सुस्मा फिल्मस्सँग सहकार्य गरेको छ।
सिनेमामा दयाका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे, अनिल सुब्बा लगायतको अभिनय रहनेछ।
फिल्मले 'किन चाउरिस मरिच आफ्नै रागले' भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ। फिल्म आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।