चितवन– अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन्। १७औं चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले तीन करोडभन्दा कमको आयोजना केन्द्रले अघि नबढाउने र एक करोडभन्दा तलको प्रदेशले नहाल्ने बताए।
उनले भने, ‘३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन, १ करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, १ करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको छ। राष्ट्रिय गौरवको आयोजनाबाहेक चार गुणाभन्दा बढी नगर्ने निर्णय भएको छ। अर्को बर्षबाट बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकदारले दाबी गर्ने परम्पराको अन्त्य हुनेछ। जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ। यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ।’
अर्थतन्त्रको आवश्यकताअनुसार, समयसापेक्ष मौद्रिक नीति हुनुपर्छ भनेर आफूहरुले निरन्तर पहल गरेको उनले बताए। ‘अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउँछ, ब्याजदर घटाउँछ, लगानी वृद्धि गर्छ, उपभोक्ताले उपभोग गर्न गाह्रो मान्नुपर्दैन, भविष्य सुनिश्चित रहेको छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।