जनकपुरधाम– जानकी मन्दिरमा विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ।
विवाहपञ्चमी महोत्सवअन्तर्गत राम कलेवा विधि सम्पन्न भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो। विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई खिर, मिठाई लगायतका परिकार खुवाउने परम्परा रहेको छ। जसलाई मिथिलाञ्चलमा मौहक समेत भन्ने गरिन्छ।
राम कलेवा विधिसमेत जनकपुरधाममा विवाहपञ्चमी महोत्सव अन्तर्गत सम्पन्न भएको हो। रामकलेवाका राम लक्ष्मणसहित चारै भाईको प्रतिकको रुपमा रहेका बालकलाई जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मड़वामा बसाएर भोजन गराइएको थियो।
राति विवाह भएकै मण्डवामा बसाएर चारै भाईलाई भोजन गराइएको थियो। रामकलेवा विधि चलिरहेकै समयमा मिथिलानी नारीहरुले गीतकै माध्यमले राम, भरत, लक्ष्मण, शत्रुघ्न तथा अयोध्यावासीलाई गीतकै माध्यमले जिस्काएका थिए।
चारै भाईका साथै अयोध्याबाट आएका जन्तीहरुलाईसमेत आदरका साथ भोजन ग्रहण गराइयो। जन्ती तथा राजा दशरथलाई समेत गीत गाउने महिलाहरुले मैथिली परम्पराअनुसार लोकगीत डहकन गाएर गाली गरेका थिए। सो हास्यपरिहासको माहोलले जानकी मन्दिरको वातावरणलाई रोमाञ्चक बनाएको थियो।
आइतबार राति वैदिक परम्पराअनुसार प्रतिकात्मक भगवान राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि आज रामकलेवा विधि गरिएको छ। जसअन्तर्गत भारत र अन्य स्थानबाट आएका साधुसन्त तथा श्रद्धालुलाई ५६ प्रकारका व्यञ्जनसहित भोजन ग्रहण गराई दक्षिणा दिएर बिदाइ गरिएको छ।
जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले रामकलेवाअन्तर्गत आज सयौं साधुसन्तलाई ५६ व्यञ्जनको भोजन गराइएको जानकारी दिए। उनकाअनुसार मिथिला भोजनमा दाल, भात, चार प्रकारका तरकारी, दही, बरी, अचार, मिठाईसहितका व्यञ्जन समावेश गरिएको थियो। साधुसन्तलाई कम्बल, दोसल्ला र नगद दक्षिणासमेत दिइएको सहायक महन्थ दासले जानकारी दिए।
एक सातादेखि विवाहपञ्चमीको लागि भरिभराउ जनकपुरधाम गएराति सीताराम विवाह सम्पन्न भएलगत्तै श्रद्धालु भक्तजन फर्किन थालेका छन्। विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर, छैटौं दिन स्वम्यवर र राति वैवाहिक कार्यक्रम तथा अन्तिम दिन आज सोमबार रामकलेवा विधि गरी महोत्सव सम्पन्न भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।