काठमाडौं– सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलले अदालतले जारी गर्ने अन्तरिम वा अल्पकालीन आदेशका कारण विकास निर्माणको काम रोकिन नहुने मत राखेका छन्।
संसदीय सुनुवाइका क्रममा सोमबार आफ्नो अवधारणा प्रस्तुत गर्दै पोखरेलले विकास निर्माणका काम प्रभावित नहुने गरी सन्तुलित भूमिकाबाट न्याय सम्पादन हुनुपर्ने बताए।
‘व्यक्तिको सम्पत्ति माथिको अधिकार कुण्ठित नहुने गरी विकास निर्माण र आर्थिक विकासका कार्यले निरन्तरता पाउने गरी सुन्तुलित भूमिकाबाट न्याय सम्पादन हुनुपर्छ,’ प्रस्तावित न्यायाधीश पोखरेलले आफ्नो अवधारणापत्र प्रस्तुत गर्दै भने।
पोखरेलले अब सार्वजनिक सरोकारका रिट र अन्य मुद्दाको छुट्टा–छुट्टै सुनुवाइ हुनुपर्ने पनि बताए। पोखरेलले न्याय सम्पादनको काममा ढिलाइ नहुने मत पनि राखे।
न्याय परिषद्ले कानुन व्यवसायीको रुपमा वरिष्ठ अधिवक्ता पोखरेलको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको हो।
न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेकाहरुको संसदीय सुनुवाइ शुक्रबारदेखि सुरु भएको हो। शुक्रबार सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको सुनुवाइ भएको थियो। आइतबार महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना सुनुवाइ भएको थियो। आइतबार पोखरेलको सुनुवाइ भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।