काठमाडौं– प्रधान सेनापति महारथी प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका उपरथी अशोक राज सिग्देललाई रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सिग्देल बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णयबाट उपरथीमा पदोन्नति भएका थिए।
विसं २०२३ मा १९ गते कपिलवस्तुमा जन्मिएका सिग्देल, २०४३ फागुन ०३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए।
रथी सिग्देलले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बहिनीपति, पृतनापति र कमाण्ड सेनापतिका साथै प्रतिविद्रोह तथा जंगलवारफेर शिक्षालयको शिक्षाधिकृत, युद्धकार्य निर्देशक, निरीक्षणाधिकृत, संभाररथी र व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका छन्।
उनले भारत, इण्डोनेसिया, चीन, सिंगापुर र अमेरिकामा सञ्चालन भएका विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी हुनुका चीनबाट एनडीसी तालिम सम्पन्न गरेका छन्।
यस्तै, युगोस्लाभिया, ताजकिस्तान र लाइवेरियामा शान्ति सेनामा सहभागी भएका छन्। शुक्रबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापतिले रथी सिग्देलका साथै उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सन्तोष वल्लभ पौडेललाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
रथी सिग्देल बलाधिकृत र उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।