काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले वैशाखमा लगानी सम्मेलन आयोजना हुनुअगावै कन्ट्री रेटिङको प्रक्रिया सम्पन्न गर्ने बताएका छन्।
सोमबार अर्थ मन्त्रालयमा विभिन्न विकास साझेदारलाई लगानी सम्मेलनका विषयमा जानकारी दिन भएको छलफलमा वैशाखअघि नै कन्ट्री रेटिङ गरिसक्ने बताएका हुन्। उनले नेपालमा लगानी गर्न आवश्यक पर्ने सबै खालका नीतिगत ऐन नियमहरु परिमार्जन गर्न सरकारले प्रमुख प्राथमिकता दिने बताए।
काम गर्ने प्रक्रियागत झन्झट, काम गर्ने कार्यशैली सम्मेलन अगावै परिवर्तन हुने उनको भनाइ छ। अर्थमन्त्री महतले सरकारले निजी क्षेत्रको लगानी ल्याउन कठिन भए पनि लगानी भित्र्याउन सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए। उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी बलियो कानुन बनाउनुपर्ने र अन्य कानुनमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि पनि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
अर्थमन्त्री महतले लगानी सम्मेलनमा निजी क्षेत्रलाई आकर्षित गर्ने मुख्य उद्देश्य रहेको दाबी गरे। वैदेशिक लगानीका लागि नेपाल सबै भन्दा उपयुक्त रहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।