काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत् नीतिगत लचकता अपनाए पनि मुलुकको अर्थतन्त्रमा दबाब कायम रहेको दाबी गरेका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। उनले नेपालको अर्थतन्त्र निकै ठूलो दबाबमा रहेको भन्दै सरकारले लगातार रुपमा सुधारको प्रयास गरिरहेको दाबी गरे।
सुधारको प्रयासकै क्रममा राष्ट्र बैंकबाट मौद्रिक नीतिको समीक्षामार्फत् भएका नीतिगत र व्यवहारिक निर्णयले अर्थतन्त्रमा सहजीकरण गर्ने भए पनि अर्थतन्त्र अझै दबाबमा रहेको उनको दाबी छ। उनले सरकारले राजनीतिक दलका नेता, निजी क्षेत्र र अर्थतन्त्रका विज्ञहरुसँग छलफल गरेर अर्थतन्त्र सुधारको लागि दिएको निर्देशनको आधारमा राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउने, लघुवित्तका ऋणहरु र व्यवसायीहरुको ऋण फिर्ता गर्ने समय अवधी थप गरेको जानकारी दिए।
सरकारले निजी क्षेत्रको मागअनुसार नीतिगत सुधार गरेको भन्दै निजी क्षेत्र सुखी भएको उनको भनाइ थियो। उनले राष्ट्र बैंकले नीतिगत रुपमा गरेको सुधारबाट निजी क्षेत्रले सकारात्मक भए पनि देशको अर्थतन्त्र माथिको दबाब कायमै रहेको जिकिर गरे। अर्थतन्त्रको तथ्याङ्कहरु हेर्दा सुधार भएको देखिए पनि वास्तविकतामा अर्थतन्त्रमा दबाब अझै रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।