एजेन्सी– प्रमुख विपक्षी दलका पाँच सदस्यको पछिल्लो दुई सातामा कारागारमा मृत्यु भएको अधिकारी र आफन्तहरूले आइतबार बताएका छन्।
बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले आगामी जनवरी ७ मा हुन गइरहेको आम निर्वाचनलाई बहिष्कार गरेको छ। उक्त निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिना पुनः निर्वाचित हुने तय भएको छ।
बिएनपीका अनुसार अक्टोबर २८ मा राजधानी ढाकामा विपक्षीहरूको एउटा विशाल र्यालीपछि भएको ‘अभूतपूर्व कारबाही’ मा पछिल्ला पाँच सातामा उसको सम्पूर्ण नेतृत्व र २० हजारभन्दा बढी राजनीतिज्ञलाई पक्राउ गरिएको छ।
प्रहरीले बिएनपीको गिरफ्तारीको आकडालाई अस्वीकार गरेको छ तर कति विपक्षी कार्यकर्तालाई हिरासतमा लिइएको हो भन्नेबारे कुनै विवरण सार्वजनिक गरेको छैन।
कैदी परिवारका केही सदस्यसहित बिएनपीका केही हजार समर्थकहरू कार्यकर्ताहरूको रिहाइको माग गर्न आइतबार मध्य ढाकामा जम्मा भएका थिए। गत महिना न्युयोर्कस्थित ह्युमन राइट्स वाचले अक्टोबर २८ को र्यालीपछि कम्तीमा १० हजार विपक्षी समर्थकहरूलाई गिरफ्तार गरिएको अनुमान गरेको थियो।
प्रहरीका अनुसार सो र्यालीपछि भएको हिंसामा एक प्रहरी अधिकारी र पाँच सर्वसाधारणको ज्यान गएको तथा करिब तीन सय बसमा आगजनी भएको थियो। यद्यपि बिएनपी र सबैभन्दा ठूलो इस्लामी दल जमात–ए–इस्लामीले कम्तीमा २० मानिसको ज्यान गएको बताएका छन्।
जमात–ए–इस्लामीमाथि गत महिना प्रतिबन्ध लगाइएको थियो। बिएनपीले पछिल्ला दुई सातामा हिरासतमा आफ्ना पाँच कार्यकर्ताको मृत्यु भएको गणनाा गरेको पार्टीका कानून प्रमुख कैसर कमालले एएफपीलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।