काठमाडौं– शुक्रबार नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा संशोधन गरेपछि त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको छ। राष्ट्र बैंकले आर्थिक वर्षा २०८०/०८ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितोमा जाने कर्जाको जोखिमभार १५० प्रतिशतबाट झारेर १२५ प्रतिशत कायम गरेको थियो।
साताको पहिलो कारोबार दिन आइतबार ३ पटक सकारात्मक सर्किट लागेपछि सेयर बजारको कारोबार बन्द भयो। कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो। ११:२५ मा पुन: खुलेको बजारमा २ मिनेटमै नेप्से परिसूचक ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो।
पुनः १२:०७ बजे कारोबार सुरु हुँदा २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो।
जम्मा ९ मिनेट कारोबार हुन पाएको आइतबार सेयर बजार परिसूचक नेप्से १११ अंकले बढेर १९६३ विन्दुमा पुग्यो।
आइतबार धेरै बढ्नेमा जलविद्युत् समूह रहेको छ। यो समूहको उपसूचक ८.६ प्रतिशत बढ्यो। त्यस्तै, होटल तथा पर्यटन समूह ६.७२, विकास बैंक ६.५९, फाइनान्स ६.५९, लगानी ६.४९, बैंकिङ ५.६८ र माइक्रो फाइनान्स समूहको परिसूचक ५.६५ प्रतिशतले बढ्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।