काठमाडौं- मकवानपुरको थाहा नगरपालिकामा आयोजित 'थाहा फिल्म फेस्टिभल २०२३' सकिएको छ। पालुङको जेसिस हलमा मंसिर ९ गतेबाट सुरु भएको फेस्टिभल भोजराज भाट निर्देशित डकुमेन्ट्री 'सुनाकली' देखाउँदै समापन गरियो।
'सुनाकली' देखाउँदा स्थानीय सहित विद्यार्थी र शिक्षकहरुको उपस्थितिले हल भरिभराउ थियो। मुगुकी किशोरीहरुको फुटबल जीवनमा आधारित 'सुनाकली' ले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ।
समापन कार्यक्रममा प्रमुख अतिथिको बाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले फेस्टिभल सफल आयोजकले गरेको अथक मेहनतको प्रशंसा गर्दै आफ्नोतर्फबाट फेस्टिभललाई निरन्तरता दिनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन्। साथै मकवानपुर जिल्लालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थाहा नगरपालिका लगायत अन्य पालिकाहरुले मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित थाहा कला केन्द्रले आयोजना गरेको फेस्टिभलमा तीन दर्जन डकुमेन्ट्री सहित फिचर फिल्म र सर्ट फिल्महरु प्रदर्शन गरिएको थियो। फिचर फिल्मतर्फ 'ऐना झ्यालको पुतली', 'प्रकाश', 'द सिक्रेट्स अफ राधा', 'बुलबुल','आमाखान्डो' र 'डेसान' देखाइएको थियो।
फेस्टिभलमा सुजित बिडारी, सुवर्ण थापा, केदार श्रेष्ठ, मोहन राई, गणेशदेव पाण्डे, समल कुमार बज्राचार्यका लगायतका चलचित्रकर्मीहरुको सहभागिता थियो।
कला केन्द्रका अध्यक्ष सानोबाबु तामाङले फेस्टिभल सफलतापूर्वक सम्पन्न भएको बताउँदै यसलाई निरन्तर रुपमा अगाडि बढाउने सुनाए।
त्यसैगरी, फेस्टिभलका संयोजक प्रमोदकृष्ण जोशीले यस फिल्म फेस्टिभलले थाहा नगरपालिकालाई मिनी फिल्म सिटी बनाउन परिकल्पनालाई साकार गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।