काठमाडौं– दक्षिण भारतीय फिल्मका स्टार रजनीकान्त र हिन्दी सिनेमाका मेगास्टार अमिताभ बच्चन यतिबेला आगामी फिल्म ‘थलाइवर १७०’ को सुटिङमा व्यस्त छन्।
उनीहरूले मुम्बईको सुटिङ पूरा गरिसकेका छन्। फिल्मको प्रोडक्सन हाउस लाइका प्रोडक्सनले सामाजिक सञ्जालमा यो जानकारी दिएको हो। प्रोडक्सन हाउसले सेटको एउटा तस्वीर सेयर गरेको छ, जसमा रजनीकान्त र अमिताभ बच्चनबीचको केमेस्ट्री देख्न सकिन्छ।
क्याप्सनमा लेखिएको छ, ‘जब सुपरस्टार र सम्राट 'थलाइवर १७०' को सेटमा भेटे। ३३ वर्षपछि पर्दामा पुनर्मिलन भयो। थलाइवर १७० लेजेन्ड्सको डबल डोज बन्न गइरहेको छ। मुम्बईको सेडियुल सकियो।’
तस्वीरमा ८१ वर्षका अमिताभ बच्चन कुर्सीमा बसेर मोबाइल हेरिरहेका छन् भने ७२ वर्षीय रजनीकान्त आफ्नो पछाडि उभिएका अमिताभको मोबाइल हेरेर मुस्कुराउँदै छन्। अमिताभ बच्चनले सेतो सर्टको साथमा खैरो रङको कोट लगाएका छन् भने रजनीकान्त खैरो रंगको सर्टमा देखिएका छन्।
अमिताभ र रजनीकान्तको पुनर्मिलनको बारेमा लाइका प्रोडक्सनले यस महिनाको सुरुमा जानकारी दिएको थियो।
३३ वर्षअघि अमिताभ र रजनीकान्त फिल्म ‘हम’ मा सँगै देखिएका थिए। सन् १९९१ मा रिलिज भएको यो फिल्ममा रजनीकान्तले अमिताभ बच्चनको भाइको भूमिका निभाएका थिए। यो फिल्म बक्स अफिसमा सुपरहिट भयो।
‘थलाइवर १७०’ रजनीकान्तको करिअरको १७०औँ फिल्म हो।
फिल्मका निर्देशक टीजे ज्ञानवेल हुन् भने संगीत अनिरुद्ध रविचन्द्रले दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।