काठमाडौं– विद्युतीय चुरोट (भेप)मार्फत् भएको ९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराका छोरा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ।
अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा चलाउनका लागि सिफारिस गरेको छ। सीआईबीका प्रवक्ता एसएसपी दिनेश आचार्यका अनुसार राहुलसँगै यो प्रकरणमा चिनियाँ नागरिक दाओजिन वाङ, उनका गाडी चालक लोकेन्द्र पौडेल रर दावा छिरिङविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ।
दावा यसअघि नै ६१ किलो सुन प्रकरणमा पक्राउ परेर अहिले पुर्पक्षका लागि थुनामा छन्। गत भदौ ३१ गते राहुललाई सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो। संगठित कसुरमा अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा सीआईबीले बुझाएको हो।
उनीहरुविरुद्ध भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ। सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेपछि सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ।
यसअघि नै यो प्रकरणमा सीआईबीले विमानस्थल भन्सारका नायब सुब्बा २७ वर्षीय रेवन्त खड्का, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ घर भएका ३२ वर्षीय भन्सार एजेन्ट दिनेश बस्नेत, सुनसरीको धरान उपमहानगरपालिका–२ घर भई न्यूरोडमा घडी पसल सञ्चालन गर्दै आएका वेदप्रकाश अग्रवाल, भारतको महाराष्ट्रका ३९ वर्षीय व्यापारी साहेब राव पाण्डुरङ मरगले, सिन्धुपाल्चोककै सुनकोशी–६ का ३२ वर्षीय अमृत कार्की, पोखरा महानगरपालिका–४ का २२ वर्षीय पूर्व सुरक्षागार्ड निर्मलकुमार विकलाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो। उनीहरु पुर्पक्षमा अहिले कारागारमा छन्।
यो पनि पढ्नुहोस्
भेपमार्फत् सुन तस्करीमा महराका बाबु–छोरा: कृष्णबहादुरको देखिएन कनेक्सन, राहुल मतियार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।