



काठमाडौ- काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार विराटनगर किंग्समाथि ९ विकेटको प्रभावशाली विजय हात पारेको छ । ब्याटिङमा हतार गरेको विराटनगरलाई सस्तैमा अलआउट गर्दै काठमान्डुले सजिलो लक्ष्य पछ्याएको हो ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको विराटनगरलाई त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमान्डुले केवल १८.३ ओभरमा ८३ रनमा अलआउट गरेको थियो । काठमान्डुले ओभरमै लक्ष्य पुरा गर्यो । काठमान्डुले ९.४ ओभरमै ८६ रन बनायो ।
काठमान्डुको यो लगातार दोस्रो जित हो । यस जितले काठमान्डु सातौंबाट दोस्रो स्थानमा उक्लेको छ । विराटनगर भने दोस्रोबाट पाॅचौं स्थानमा झरेको छ ।
काठमान्डुले पहिलो ओभरमै १४ रन जोडेको थियो । साहिल पटेलले पहिलो दुई बलमै चौका प्रहार गरेका थिए भने डेभिड वार्नरले पनि आफुले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेका थिए । तेस्रो ओभरमा साहिललाई अपराजित पौडेलले १० रनमा बोल्ड गरे ।
डेभिड वार्नर र विल बोसिस्टोले दोस्रो विकेटमा ६९ रनको अविजित साझेदारी गरि काठमान्डुलाई सहज जित दिलाए । इमरान शेखको बलमा लगातार दुई छक्का प्रहार गरि विजयी रन बटुलेका वार्नरले २४ बलमा ४४ रन बनाए । सोक्रममा उनले २ चौका र ३ छक्का प्रहार गरे । बोसिस्टोले २४ बल खेली ३ चौका प्रहार गरी २३ रन बनाए ।
यसअघि विराटनगरले ३५ रनमा ७ विकेट गुमाउदा टोलीमा एनपीएलकै न्युन स्कोर कटाउनु पर्ने चुनौती अगाडि रहेको थियो । जनकपुर बोल्ट्स पहिलो सिजनमा सुदूरपश्चिम रोयल्सविरुद्ध ५१ रनमै अलआउट भएको थियो ।
तर एन्जेलो म्याथ्युज र रुपेश सिंहले आठौं विकेटमा ३९ रनको साझेदारी गरी विराटनगरलाई त्यो खतराबाट उकासेका थिए । म्याथ्युज २२ रन बनाई सन्तोष यादवको बलमा बोल्ड भए । उनले ३१ बल खेली १ चौका प्रहार गरे । रुपेशले सर्वाधिक २६ रन बनाए । २६ बल नै खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । रुपेशलाई पनि सन्तोषले एलबीडब्लु आउट गरे ।
ओपनर सेहन जयसुर्या ५ रन बनाई जहाॅन्दद खानको बलमा आउट भए । लोकेश बम ६ रनमै आउट भए । इमरान शेख खाता नखोली पेभेलियन फर्किए । प्रतियोगितामा पहिलो म्याच खेलिरहेका श्रीलंकाका अलराउन्डर सहन अराचिगेले लगातार बलमा बसिर अहमद र नारायण जोशीलाई आउट गरे । बसिरले १० रन बनाए भने नारायणले खाता खोल्न भ्याएनन् ।
‘चाइना म्यान’ देव शाहले स्टार अलराउन्डर एन्ड्रे रसेललाई ३ रनमा आउट गरी विराटनगरलाई संकटमा पारेका थिए । त्यसपछि म्याथ्युज र रुपेशको जोडिले केहि समय काठमान्डुको बलिङको प्रतिरोध गरेका थिए । अन्तिम ब्याटर अपराजित पौडेललाई २ रनमा जहाॅन्ददले आउट गरे ।
काठमान्डुबाट देव्रेहाते स्पिनर सन्तोषले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । सहनले २ ओभरमा ७ र जहाॅन्ददले ३.४ ओभरमा १४ रन खर्चेर २–२ विकेट लिए । शाहव आलमले ४ ओभरमा १३ रनमात्र खर्चेर १ विकेट लिए । कप्तान करण र देवले पनि १–१ विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।