काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैधानिक रुपमा वर्षौंदेखि हरियो नम्बर प्लेटमा सञ्चालन हुँदै आएका ८ वटा ट्याक्सीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
विमानस्थल हवाई यात्रु संस्थाले अनुमतिबिनै ५ वर्षदेखि यस्ता ट्याक्सी राजनीतिक मिलेमतोका आडमा सञ्चालन गर्दै आएको थियो।
वर्षौंदेखि अनुमतिबिनै मिलेमतोमा सञ्चालन भएका ८ वटा ट्याक्सीबाट त्रैमासिक रुपमा विमानस्थल कर्पोरेट महाशाखालाई बुझाउनुपर्ने करिब २० लाख रुपैयाँ राजस्व हिनामिना भएको समाचार नेपाल लाइभले प्रकाशित गरेको थियो।
कम्पनीको लागि भन्दै अवैध रुपमा सञ्चालित यस्ता ट्याक्सीबाट उठेको रकम पनि कम्पनीका तीन नेताहरुले अपारदर्शी रुपमा लिने गरेका खुलासापछि गृह मन्त्रालयले पर्यटन मन्त्रालय र ट्राफिक महाशाखालाई पत्र लेखेको थियो।
कम्पनीका प्रबन्ध निर्देशक पुरुषोत्तम सिंखडा, सञ्चालकहरु विजयबहादुर स्वाँर र झलकबहादुर कार्कीले मिलेमतोमा अनुमति नै नपाएका ८ ट्याक्सी मिलेमतोमा सञ्चालन गर्दै आएका थिए। ५ वर्षमा कम्पनीको नाममा उठाएको ४८ लाख ४८ हजार रकम आफैंले चलाएका थिए।
उक्त समाचारपछि अवैध रहेका ट्याक्सीहरुलाई हरियो नम्बर प्लेटमा चल्न नदिने गरी आज नियन्त्रणमा लिइएको ट्राफिक महाशाखाका प्रमुख बसन्त वन्तले जानकारी दिए।
नियन्त्रणमा लिइएका ट्याक्सीलाई विमानस्थलमा नियन्त्रणमा राखिएको छ।
यसरी पुष्टि हुन्छ अवैध ८ ट्याक्सी
कम्पनीले हालसम्म ८ वटा ट्याक्सी कसरी यातायात व्यवस्था कार्यालयबाट दर्ता गराई विमानस्थलमा सञ्चालन गर्ने अनुमति पाएको हो भन्ने कुनै आधार देखिँदैन।
सर्वोच्च अदालतमा दायर भएको कम्पनीकै निवेदन, विभिन्न मितिमा विमानस्थल कर्पोरेट महाशाखा, नागरिक उड्ययन प्राधिकरण र यातायात व्यवस्था विभागले विभिन्न समयमा लेखेको पत्रबाट देखिन्छ।
पछिल्लो पटक २०७५ जेठ ३ गते विमानस्थल कर्पोरेट महाशाखाले ट्राफिक प्रहरीलाई पत्र लेखेको थियो।
२०७५ असार २० गते चलानी नम्बर ७९० रहेको नेपाल नागरिक उड्यन प्राधिकरण गौचरण काठमाडौंले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथलाई लेखेको पत्रबाट ८ वटा ट्याक्सी अवैध नै देखिन्थ्यो।
यी हुन पक्राउ परेका ट्याक्सी

यो पनि पढ्नुहोस्ः
शृंखला–१ : त्रिभुवन विमानस्थलमा हरियो नम्बर प्लेटका ट्याक्सीको सिन्डिकेट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध ट्याक्सी शृंखला-२ : लाखौं राजस्व र कम्पनीको नाममा उठाएको रकम नेताको खल्तीमा
त्रिभुवन विमानस्थलमा अवैध ट्याक्सी शृंखला-३ : कर्मचारीको नाममा सञ्चालक र निर्देशक उच्च तलब बुझ्दै
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।