काठमाडौं– राष्ट्रिय सभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट मापदण्ड हुनुपर्ने उनको भनाइ थियो।
मंगलबार राष्ट्रि यसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शेर्पाले हेलिकप्टरबाट दोस्रो क्याम्पमा पुगेकाहरुलाई पनि सगरमाथा चढेको मान्यता दिने गरेको भन्दै आपत्तिसमेत जनाए।
उनले पर्यटकहरुकै कारण हिमाली क्षेत्रको वातावरण प्रदूषित हुन पुगेको उल्लेख गर्दै त्यस्तो हुन नदिन पनि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याए। सांसद शेर्पाले पर्यटनले विकासमात्रै नभई विध्वंश पनि निम्त्याउन सक्छ भन्ने मान्यतालाई आत्मासात गरेर पर्यटन नीति ल्याउन पनि सरकारलाई सुझाव दिए।
सांसद शेर्पाले पर्यटन क्षेत्रको विकासका लागि सरकारले गुरुयोजना नै तय गर्नुपर्ने पनि पटकपटक दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।