काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय आवश्यक रहेको बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले ४७औं विश्व पर्यटन दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय, सरकारी संस्थाको क्षमता अभिवृद्धि र निजी क्षेत्रसँगको निरन्तर सहकार्य आवश्यक रहेको बताए।
पर्यटनमन्त्री पौडेलले पर्यटन विकासलाई एउटै मन्त्रालयको प्रयासबाट मात्र अघि बढाउन नसकिने भएकाले सरकारका विभिन्न निकायबिच प्रभावकारी समन्वयमा आफूले निरन्तर जोड दिँदै आएको उल्लेख गरे। उनले पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने सरकारको योजना रहेको भन्दै बदलिँदो पर्यटन परिवेशअनुसार संस्थागत क्षमता र सेवा प्रवाहलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए।
मन्त्री पौडेलले नेपालको मौलिक संस्कृति, परम्परा र समुदायमा आधारित जात्रा तथा पर्वहरू पर्यटनका महत्त्वपूर्ण आधार भएका बताए। पुस्तौँदेखि चलिआएका जीवन्त सामुदायिक जात्रा तथा सांस्कृतिक गतिविधिको संरक्षण र प्रवर्द्धनलाई पर्यटन विकाससँग जोड्नुपर्ने उनको भनाइ छ।
उनले हिमालयलाई नेपालको मात्र नभई यस क्षेत्रकै पवित्र प्राकृतिक सम्पदाका रूपमा लिँदै हिमालबाट उत्पन्न नदीले यस क्षेत्रका करोडौँ मानिसको जीवनयापनमा योगदान पुर्याइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।