काठमाडौं– मनाङको हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी बेपत्ता भएका व्यक्तिको खोजीका क्रममा दुई जनाको शव फेला परेको छ।
हिमपहिरोपछि काठमाडौंबाट उद्धारका लागि पुगेको टोलीले दुई जनाको शव फेला पारेको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघ (एनएनएमजीए) का अध्यक्ष तुलसिंह गुरुङले जानकारी दिए।
गुरुङका अनुसार शव फेला परेको जानकारी अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड तथा इम्याजिन नेपालका सञ्चालक मिङ्माजी शेर्पामार्फत आएको हो। फेला परेका शवको भने अहिलेसम्म पहिचान हुन सकेको छैन। शवसँग परिचय खुल्ने कुनै कागजातसमेत नभेटिएको गुरुङले बताए।
हिमपहिरोपछि उद्धार तथा खोजीका लागि एनएनएमजीएले आठ जनाको टोली परिचालन गरेको थियो। काठमाडौंमा रहेका पर्वतारोहण गाइडहरूलाई दुईवटा हेलिकप्टरमार्फत हिमलुङ क्षेत्रतर्फ लगिएको गुरुङले बताए।
हिमपहिरोमा परेर १४ जना सम्पर्कविहीन रहेको प्रारम्भिक जानकारी भए पनि उनीहरू सबै हिमपहिरोमा परेका हुन् वा अन्य कारणले सम्पर्कविहीन भएका हुन् भन्ने यकिन भइसकेको छैन। खोजी तथा उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।