काठमाडौं– व्यापारीलाई फाइदा हुने गरी सेटिङमा ललितपुरको लगनखेलस्थि प्रहरी चौकी (प्रहरी प्रभाग लगनखेल) हटाउने निर्णयविरुद्ध स्थानीय आन्दोलित भएका छन्।
व्यापारिक कम्प्लेक्स निर्माण गरी व्यापारीलाई फाइदा पुर्याउने उद्देश्यसहित ललितपुर महानगरपालिकाले वडा कार्यालय र प्रहरी चौकी हटाउने निर्णय गरेपछि स्थानीयले विरोध जनाएका थिए। उनीहरुले उक्त निर्णय खारेजीको माग गर्दै महानगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए। यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए।
आफूहरुको मागप्रति महानगर र अख्तियार दुवैले चासो नदिएको भन्दै स्थानीय विरोध प्रदर्शनमा नै उत्रिएका हुन्।
लगनखेलका विभिन्न २१ वटा संघसंस्था तथा टोल सुधार समितिहरु अहिले दिनहुँजसो चौकी नहटाउन भन्दै आन्दोलनमा उत्रिएका छन्।
‘सार्वजनिक जग्गा मास्न पाईदैन’, ‘व्यापारिक कम्प्लेक्स हामीलाई चाहिँदैन’, ‘जनताको भावनाको कदर गर,’ ‘भू–माफीयालाई दिएको ठेक्का रद्द गर’ जस्ता नारासहित स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन्।
प्रहरी कार्यालय हटाउने र त्यहाँ व्यापारिक कम्प्लेक्स बनाउने महानगरको निर्णयविरुद्ध उनीहरु रुष्ट छन् । यसलाई उनीहरुले जनताको इच्छाविपरीत महानगर प्रमुख व्यापारिक कम्प्लेक्स निर्माणका लागि निर्णय गरेको स्थानीयको भनाइ छ।
लगनखेलमा रहेको वडा कार्यालय र प्रहरी प्रभागलाई हटाएर एक व्यवसायीको भित्री जग्गालाई बाटो मिलान गर्ने गरी सेटिङमा ललितपुर महानगरपालिकाले व्यापारिक मल (कम्प्लेक्स) बनाउन लागेपछि स्थानीय आक्रोशित भएका हुन्।

ललितपुर महानगरपालिका–१२ स्थित लगनखेल बसपार्क नजिकै रहेको प्रहरी चौकी र वडा कार्यालय पछाडि रहेको व्यवसायी केबी महर्जनको जग्गालाई बाटो मिलान गर्ने उद्देश्यसहित मच्छेन्द्र कम्प्लेक्स बनाउन लागिएको छ।
प्रहरी भवन र वडा भवन पछाडि व्यवसायी महर्जनको करिब २२ आना जग्गा छ। उक्त जग्गामा पुग्ने बाटो चार फुटको मात्रै रहेको छ। चार फुटको बाटो चौडा बनाउने उद्देश्यले सेटिङमा मच्छेन्द्र कम्प्लेक्स बनाउन लागिएको भन्दै अहिले स्थानीय सडक आन्दोलनमा उत्रिएका हुन्।
२०२२ को नापीअनुसार कित्ता नम्बर ५३ मा २४ रोपनी बराबर क्षेत्रफलको जग्गा नेपाल सरकारको नाममा छ। जसध्ये करिब २२ आना जग्गा प्रहरी चौकी र वडा कार्यालय परिसरभित्र पर्छ। यही २२ आना जग्गामा ललितपुर महानगरपालिकाले व्यावसायिक कम्प्लेक्स बनाउने भन्दै ठेक्कासमेत लगाइसकेको छ।
व्यापारिक कम्प्लेक्स बनाउने ठेक्काको जिम्मा समेत उनै व्यवसायी केबी महर्जनले पाएका छन्। वडा कार्यालयसँग साँध जोडिएको आफ्नो जग्गामा बाटो साघुँरो भएकाले चौडा पार्ने उद्देश्यमा लागेका महर्जनले सेटिङमै ठेक्का समेत हात पारेको स्थानीयको आरोप छ।
व्यवसायी महर्जनको एमबी केबी जेभीसँग ललितपुर महानगरपालिकाले गत वर्षको असार १२ गते नै कम्प्लेक्स निमार्णको सम्झौता गरिसकेको छ। सेटिङमा ठेक्का समेत आफैंले पारेपछि महर्जनले आफ्नो जग्गामा पुग्ने बाटो चौडा हुने गरी भवनको डिजाइन गरेको खुलेको छ।
सेटिङमा ठेक्का हात पारेर प्रहरी चौकी नै त्यहाँबाट अन्यत्र सार्न लागिएको छ। ठेक्का सम्झौता भएदेखि नै प्रहरी चौकी अन्यत्र सार्ने योजना भए पनि पटकपटकको प्रयास असफल हुँदै आएको थियो। प्रहरी चौकी हटाएर कम्प्लेक्स बनाउन लागिएको विषय सार्वजनिक भएपछि प्रहरी चौकी नहटाउन भन्दै स्थानीय बासिन्दा तथा स्थानीय संघ–संस्थाहरुले विरोध सुरु गरेका थिए।
३५ करोडको ठेक्का पाएपछि व्यवसायी महर्जनले त्यहाँबाट चौकी हटाउने अनेक प्रयास गरेका देखिएको छ। गत वैशाख १९ गते मात्रै प्रहरी प्रमुख, आईजी बसन्तबहादुर कुँवरले चौकी हटाउन सहमति दिँदै हस्ताक्षर गरेपछि यो विषय अहिले अख्तियारसम्म पुगिसकेको छ।
चौकी हटाउनेबारे सम्झौता हुनु १ हप्ता अघि मात्रै महानगरपालिकाले लगनखेलमा नागरिक सुनुवाइ कार्यक्रम गरेको थियो। त्यतिबेला पनि स्थानीयहरुले प्रहरी चौकी किन हटाउन खोजिएको र यसबारे महानगरपालिकाको प्रष्ट जवाफ चाहियो भन्दै प्रश्न गरेका थिए। त्यतिबेला महानगरपालिकाका कार्यकारी अधिकृत गणेश अर्यालले स्थानीयको सहमति विपरीत चौकी नसारिने र कुनै काम अघि नबढाइने बताएका थिए।
तर त्यसको एक साता बित्न नपाउँदै महानगरपालिकाले प्रहरी प्रमुख आईजी कुँवरलाई बोलाएर चौकी सार्नेबारेको सम्झौतामा हस्ताक्षर गर्न लगाएको थियो। त्यसपछि स्थानीयले सीडीओ कार्यालय र महानगरपालिका र प्रहरीमा समेत यो निर्णय खारेज गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए।
नागरिक सुनुवाइ कार्यक्रममा जनताको इच्छा विपरित काम अघि नबढ्ने बताएका अर्याल यसअघि अख्तियारले मुद्दा चलाएका अधिकृत हुन्। अख्तियारले मुद्दा चलाएपछि लामो समय निलम्बन रहेका थिए। पछि फैसला आएपछि उनी पुनर्वहाली भएका हुन्। यही बीचमा अर्याललाई ललितपुर महानगरबाट अन्यत्र सुरुवा गरिएको थियो। तर चौकी हटाउने काममा सम्पूर्ण ‘सेटिङ’ मिलाए वापत नै उनलाई पुनः यही थमौती गरिएको स्थानीयको आरोप छ।
कम्प्लेक्स बनाउन चौकी हटाउने र उक्त चौकी पनि उनै ठेकेदार केबी मजर्हनको घरमा राख्नका लागि सम्पूर्ण तयारी गरिसकिएको छ। साँघुरो गल्लीभित्र ३ आना जग्गामा बनेको एकनाले घरलाई मासिक १ लाख २५ हजार रुपैयाँ महानगरले नै भाडा तिर्ने गरी चौकी सार्न लागिएको हो।
यसको पनि स्थानीयले ब्यानर टाँगेरै विरोध गरेका छन् । स्थानीयको भनाइ छ, ‘टोल समाज र स्थानीय जनताको इच्छा विपरीत र विरोधका बाबजुत पनि महानगरपालिकाले आफ्नो भवन खाली राखी व्यक्तिलाई फाइदा पुग्ने गरी र राज्यकोषलाई घाटा हुनेगरी प्रहरी चौकी भाडाको घरमा सार्न खोजिएकोमा घोर विरोध गर्दछौं।’

लगनखेलबाट चौकी हटाउने हो भने उक्त ठाउँमा पोखरी बन्नुपर्ने स्थानीयको माग छ। २०४६ सालमा उक्त स्थानमा चौकी बस्नुअघि पोखरी रहेकाले पोखरी बन्नुपर्ने माग स्थानीयको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।