जनकपुरधाम– जनकपुरधाममा गुठी संस्थानले पोखरीका डिलमा रहेका अतिक्रमित संरचना हटाउने अभियान थालेपछि गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच विवाद चर्किएको छ।
गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारकै लगानीमा बनेको सार्वजनिक शौचालयसमेत भत्काइएपछि उपमहानगरपालिकाले आपत्ति जनाएको हो।
मेयर मनोजकुमार साहका अनुसार उपमहानगर अतिक्रमित जग्गा खाली गराउने पक्षमा रहे पनि गुठी संस्थानले कुन संरचना अतिक्रमित हो र कुन सरकारी लगानीमा बनेको सार्वजनिक संरचना हो भन्ने स्पष्ट गर्नुपर्ने अवस्था छ। जनताको सुविधाका लागि बनेका शौचालय, विद्यालय तथा योग केन्द्रसमेत हटाउने हो भने त्यसबाट सर्वसाधारणलाई नै समस्या हुने उनको भनाइ छ।
सञ्चारकर्मीसँग बुधबार कुरा गर्दै मेयर साहले प्रश्न गरे, ‘पूरै जनकपुर गुठीको हो भने सार्वजनिक शौचालय कहाँ बनाउने ?’ सरकारकै लगानीमा बनेका संरचना हटाउँदा उपमहानगरले सहयोग नगर्ने उनको स्पष्टोक्ति छ।
यसैबीच गुठी संस्थानले थप सात वटा पोखरीका डिल खाली गराउने सूचना निकाले पनि उपमहानगरपालिकाले असहयोग गरेको भन्दै अभियान रोकेको छ। अब बाँकी संरचना हटाउने विषयमा गुठी र उपमहानगरबीच समन्वय हुन नसक्दा अभियान कहिले पुनः सुरु हुन्छ भन्ने टुंगो छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।