काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १ अर्ब बराबरको रकम ठगी गरेको प्रकरण थप ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
प्रहरीको सिफारिसमा काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनका नाममा पक्राउ पूर्जी जारी भएको हो।
पक्राउ पूर्जी जारी भएकामध्ये हरिभक्त महर्जन काठमाडौंको न्यूरोडमा रहेको दिया सहकारीको सञ्चालक समिति सदस्य हुन्। प्रहरीका अनुसार हरिभक्त र लक्ष्मीको नामको बैंक खातामा उक्त ठगी प्रकरणको ५५ लाख रुपैयाँ नगद जम्मा भएको पाइएपछि अनुसन्धानका लागि पक्राउ पूर्जी जारी भएको हो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै पैसा उठाएर ठगी गरेको प्रकरणमा प्रहरीले यसअघि नै ८ जनालाई पक्राउ गरिसकेको छ। नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीसहितका नाममा पक्राउ पूर्जी जारी भएको छ।
प्रहरीले हालसम्म एमाले नेता रायमाझीका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयका सचिव सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई पक्राउ परेका छन्। यस्तै, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ परेका थिए।
सम्बन्धित सामग्री:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।