काठमाडौं- गैरभुटानीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने कार्यमा संलग्न भएको भन्दै पक्राउ पुर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझीले आफूमाथिको आरोप सत्य नभएको बताएका छन्।
उनले यो प्रकरणमा आफूलाई पनि जोड्ने कार्यलाई आफूमाथिको षडयन्त्र भएको प्रतिक्रिया दिए। तर कसले षडयन्त्र गरेको हुनसक्छ भन्ने विषयमा भने कतै लक्षित गरेनन्। ‘अनुसन्धान होला। अनुसन्धान भइरहेको विषयमा मैले के भन्ने र? ममाथिको आरोपको कुनै आधार नै छैन’, नेपाल लाइभसँग कुरा गर्दै उनले भने।
आफूले भुटानी शरणार्थीको समस्याको दीर्घकालीन हल हुनुपर्छ भनेर सहयोग गर्ने भनेको र सहयोग पनि गर्दै आएको तर गैरभुटानीलाई भुटानी बनाएर अमेरिका लैजाने विषयमा संलग्न नभएको बताए।
‘हामी त्यसमा अन्जान छौं। त्यसबारेमा त मलाई के थाहा हुन्छ र? गैरभुटानीलाई भुटानी बनाउने र अमेरिका लैजाने काममा त सहयोग गर्ने कुरै भएन’, उनले भने।
आरोपित व्यक्तिसँग रायमाझीले घुमेको र खिचेको फोटो पनि सार्वजनिक भएको थियो। तर घुम्ने र फोटो खिच्ने विषयलाई भने उनले स्वाभाविक भएको प्रतिक्रिया दिए। ‘कुनै मान्छेसित फोटो खिचेको, घुमेको आधारमा जिम्मा लिने कुरा भएन’, उनले भने।
नक्कली शरणार्थी बनाएर पठाउने समूहले रायमाझीका छोराको नाममा काटिएको चेकको फोटो समेत सार्वजनिक भएको थियो। रायमाझीले भने आफ्नो छोराको नाममा काटिएको भनिएको चेकको प्रतिवाद गरे। ‘चार वर्षसम्म झोलामा राखेको चेकको के अर्थ हुन्छ र?’, उनले भने, ‘चेक हामीसँग भएको र साटिएको भए पनि शंका गर्ने ठाउँ रहन्थ्यो।’
रायमाझी माओवादी छाडेर एमाले प्रवेश गरेका हुन्। अहिले माओवादी नेतृत्वमा सरकार छ। तर माओवादीले आफूमाथि बदला लिएको होला जस्तो नलाग्ने उनको भनाइ छ। ‘माओवादीले बदला लिन लागेको होला भन्ने त लाग्दैन। किन बदला लिनु होला र? त्यस्तो गर्लान् भन्ने त मलाई लाग्दैन। त्यस्तो नहुनुपर्ने। त्यसबारेमा मलाई थाहा छैन’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।