काठमाडौं - तपाईं यो हप्ता यात्रा गर्दै हुनुहुन्छ? मौसमको पूर्वानुमानको अध्ययन गरेर लामो वा छोटो दूरीको यात्रा गर्न सर्वसाधारणलाई सहज भएको छ।
मौसम पूर्वानुमान महाशाखाले यो साताको मौसम पूर्वानुमान सार्वजनिक गरेर सहजता थपिदिएको छ। महाशाखाका अनुसार यो साताको अन्त्यमा देशका धेरै स्थानमा वर्षाको पूर्वानुमान छ। केही भूभागमा हिमपातको पनि सम्भावना रहेको छ।
बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली अर्थात् न्यूनचापीय क्षेत्र बिस्तारै मजबुत हुँदै गएको र त्यसको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको हो।
अबका चार दिन अर्थात् कात्तिक ११ गतेसम्मका लागि मौसम ठीक रहे पनि कात्तिक १२ गते वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
“कात्तिक १२ गते कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।
बिहीबार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। “ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन साथै विभागको पछिल्लो सूचनामा अद्यावधिक हुन अनुरोध छ,” महाशाखाले भनेको छ।
१२ गतेपछिका दिनका निम्ति महाशाखाले दैनिक रूपमा जारी गर्ने बुलेटिनमार्फत मौसमी जानकारी लिन सकिनेछ।
मौसमका कारण धानबालीसँग सम्बन्धित किसान, हिमाली क्षेत्रका बासिन्दा र पदयात्रीले सावधानी अपनाउनुपर्ने देखिएको छ।
बंगालको खाडीमा विकसित उक्त न्यूनचापीय क्षेत्र आइतबार गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुन सक्छ। त्यसपछि सोमबारसम्म चक्रवात बन्न सक्ने सम्भावना रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ।
त्यसपछि त्यो प्रणाली अझ शक्तिशाली बन्दै अघि बढ्ने र भारतको उत्तरी आन्ध्र प्रदेश तथा त्यससँग जोडिएको दक्षिण ओडिसाको तटीय क्षेत्रमा अगाडि लाग्ने सम्भावना रहेको विभागको भनाइ छ।
बुधबारसम्म भने ठूलो वर्षा वा मौसममा उल्लेखनीय परिवर्तनको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।