काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन नसक्ने बताएका छन्। बालुवाटारस्थित निवासमा मंगलबार आविस्कार केन्द्रका प्रमुख महावीर पुन सँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिए।
‘वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन। नेपाल स्वतन्त्र भएर आत्मसममानको साथ बाँच्ने स्थिगतितिर जाँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने।
वर्तमान युग विज्ञान र प्रविधिको भएकोले कुनै पनि देशको अस्तित्वका लागि यसको विकास अपरिहार्य भएको प्रचण्डको भनाइ छ। ‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो। जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन,’ प्रधानमन्त्रीले भने।
विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले अहिले विद्यमान ऐन कानुन तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढनुपर्नेमा जोड दिए।
आविस्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो। कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविस्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए।
छलफलमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीन बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।