लुटिएको मोबाइल पसलको सीसीटीभीमा कैद भएको दृश्य। काठमाडौं– नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरुको प्रदर्शनका क्रममा सोमबार भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ।
मंगलबार महासंघले नयाँ बसपार्कस्थित ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै सोमबार भएको यातायात मजदुरहरुको प्रदर्शनको क्रममा ल्होत्से मलमा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने संगठन र सरकारले दिनुपर्ने माग गरेको हो।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीहरुका माग सम्बोधन नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिए। उनले १५ घण्टा हुँदासम्म राज्य घटनाप्रति मौन बस्नुले व्यवसायीहरुको पक्षमा सरकार छैन भन्ने देखिएको आरोप लगाए।
सरकारले पसल लुटपाट पर्नेहरुको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन भट्टराईले माग गरे। अध्यक्ष भट्टराईले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको जनाए।
उनले सोमबारको घटनाबाट मुलुकको सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने पुष्टि हुने भन्दै घटनाको सम्पूर्ण क्षतिपूर्ति राज्यले दिनुपर्ने बताएका हुन्। उनले व्यवसायीहरुले निर्धक्क भएर व्यवसाय गर्ने वातावरण पनि नभएको सन्देश प्रवाह भएको बताए।
त्यस्तै, महासंघका उपाध्यक्ष तथा लुटपाट भएको पसलका सञ्चालक अर्जुन चालिसेले करिब ८ देखि ९ करोड रुपैयाँ बराबरको मोबाइल, पैसा र अन्य सामग्रीहरु लुटिएको बताए। उनले सरकारले घटनाबाट भएको क्षतिपूर्ति दिने विश्वास रहेको बताए।
महासंघका महासचिव रमेश घिमिरेले आफ्नो व्यवसाय गरेर जीविकोपार्जन गर्ने सुरक्षित वातावरण नभएको बताए। उनले यातायात मजदुरहरुले आन्दोलनको नाममा पसलहरु लुटपाट गर्ने काम भएको भन्दै घटनाको जिम्मा सरकार वा आन्दोलनकारी दुवैले लिनुपर्ने बताए।
मोबाइल व्यवसायीहरूले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्नलाई कारबाही र पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। सोमबार ल्होत्से मलमा सञ्चालित पसलहरूका सिसा र सटर फोरेर मोबाइल लुटिएको जनाएको महासंघले जनाएको छ।
पसल तोडेर मोबाइल लुट्दै गरेको दृश्य कैद भएका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका छन्। पसलको सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ। महासंघले क्षतिपूर्ति र सुरक्षा माग गर्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायतमा ज्ञापनपत्र बुझाउने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।