काठमाडौं– कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले सरकारी निकायहरुमा स्वदेशमा नै बनेका सफ्टवेयरहरुको प्रयोग बढाउने गरी नीति–नियम बनाउन सरकारसँग माग गरेको छ।
क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोदारले सरकारसँग यस्तो माग राखेका हुन्। मंगलबारदेखि काठमाडौंमा सुरु भएको २५औं संस्करणको क्यान इन्फोटेक मेलाको उद्घाटन कार्यक्रममा बोल्दै उनले स्वदेशी सफ्टवेयर उद्योगका लागि प्रोत्साहित गर्न र उनीहरुको क्षमता अभिवृद्धिमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराए।
शून्य भन्सार दरमा आयात हुँदै आएका कम्प्युटरसम्बन्धी सबै सामानहरुमध्ये कम्प्युटर, मनिटर र स्मार्ट बोर्डलाई टेलिभिजन भनेर केही समयदेखि भन्सार कर लगाउने गरेकोमा आपत्ति जनाउँदै अध्यक्ष पोदारले त्यसलाई तत्काल हटाउन पनि सरकारसँग आग्रह गरे।
‘सफ्टवेयर उद्योगका लागि प्रोत्साहित गर्न र भएका उद्योग क्षमता अभिवृद्धि गर्न तथा सरकारी कामकाजमा स्वदेशी सफ्टवेयरहरुको प्रयोग बढाउन नीति, नियमहरु बनाउन म अनुरोध गर्न चाहन्छु।
त्यसैगरी कम्प्युटरसम्बन्धी सम्पूर्ण सामानहरु आयात गर्दा शून्य भन्सार रहेकोमा केही समयदेखि कम्युटर, मनिटर र स्मार्ट बोर्डलाई टेलिभिजन भनेर सोही अनुसारको भन्सार कर लगाउने गरिएकोमा ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने।
यही माघ २९ गतेसम्म चल्ने इन्फोटेक मेला सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरुका लागि विशेष थलो हुने बताइएको छ। सो इन्फोटेकलाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको पनि क्यान महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।