काठमाडौं– दक्षिण कोरियाको राजधानी सिओलमा एक पार्टीमा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु भएको छ। शनिबार राति मध्यराति भएको हेलोइन पार्टीमा भागदौड हुँदा १५० जना गम्भीर घाइते भएका छन्।
मृतकको तथ्यांक बढ्न सक्ने बीबीसीले उल्लेख गरेको छ। नेशनल फायर एजेन्सीका एक अधिकारीका अनुसार इटावन लेसर जिल्लाको एक गल्लीमा भीड बढेका कारण भागदौड भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भागदौड मच्चिएपछि कार्डियाक अरेस्टबाट पीडित करिब ५० जनालाई सीपीआर दिइएको छ।
घाइतेमध्ये ८१ जनालाई श्वास प्रश्वासको समस्या देखिएको छ। पश्चिमी देशमा हेलोइन फेस्टिबल मनाइन्छ। पूर्वजको आत्माको शान्तिका लागि उक्त पर्व मनाइने गरिन्छ।
दक्षिण कोरियाको अग्नि सेवाका अनुसार उक्त घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश व्यक्तिहरु किशोर किशोरी रहेका छन् । २० वर्ष आसपासका व्यक्ति धेरैले उक्त घटनामा ज्यान गुमाएका र घाइते भएका समाचारमा जनाइएको छ।
साँघुरो क्षेत्रमा अत्यधिक भीड जम्मा भएका कारण घटना भएको समाचारमा जनाइएको छ। कोभिड प्रकोपपछि दक्षिण कोरियामा पहिलोपटक ठूलो भीडका साथ हलोइन मनाइएको पनि समाचारमा जनाइएको छ।
घटनालगत्तै राष्ट्रपति युन सुक योलले विस्तृत अनुसन्धानका लागि निर्देशन दिएका छन्। उक्त क्षेत्रमा उद्धार टोली खटिएको छ। सरकारी अधिकारीहरुका अनुसार २ जना विदेशीको ज्यान गएको पुष्टि भएको छ भने १५ जना घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।