काठमाडौं- २०७८ फागुन १२ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूची थियो- एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल। दिउँसो १ बजेका लागि बोलाइएको बैठक सत्ता पक्षको आग्रहमा स्थगित भयो। सदन स्थगित हुने बित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुसहित संसद् भवन नयाँ बानेश्वरमै छलफलमा जुटे।
छलफलमा प्रधानमन्त्री देउवासहित नेपाली कांग्रेसका महामन्त्री गगन थापा र कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी थिए। यस्तै, एमालेबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ सहभागी थिए। त्यसपछि देउवा र ओलीबीच एक्लाएक्लै वार्ता भयो। उनीहरु सोही दिन बेलुका ७ बजे भेट्नेगरी छुट्टिए।
भेटघाटबाट देउवा बाहिरिएपछि ओलीलाई भेट्न प्रचण्ड लगायतका माओवादी केन्द्रका नेताहरु पुगे। केही बेरको छलफलपछि उनीहरु पनि बाहिरिए।
त्यतिबेला राजनीतिक घटनाक्रम तीव्र बनेका थिए। एमसीसीकै कारण गठबन्धन टुट्ने सम्भावना पनि बढेको थियो। त्यसैले भेटघाट बारे आम चासो पनि थियो।
एमाले र माओवादी केन्द्रका नेताहरुको भेटमा माओवादीका तर्फबाट ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरिएको एमालेका तत्कालीन प्रमुख सचेतक विशाल भट्टराईले बताएका थिए। उनको भनाइ थियो, 'उहाँ(प्रचण्ड)को तपाई(केपी ओली) प्रधानमन्त्री भइदिनुस्, हामी सहयोग गर्छौं भन्ने प्रस्ताव छ।'
तर उनको दाबी एकपक्षीय मात्रै थियो। माओवादी पक्षले भने यस विषयमा केही भनेको थिएन। बुधबार माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि भट्टराईको भनाइलाई पुष्टि गरेका छन्। उनले एमसीसी असफल बनाउन ओलीको साथ खोजेको र गठबन्धन टुटेपछि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताए।
बुधबार आयोजित माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको निर्वाचनकेन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले भने, 'एमसीसीलाई असफल पार्न साथ दिनुहोस्। त्यसपछि यो गठबन्धन टुट्छ। तपाईं नै प्रधानमन्त्री हुनुहोस्। र चुनावमा फेरि वाम तालमेल गरेर जाऔँ भनेर हामीले भनेकै हो। यो लुकाउनुपर्ने कुरा छैन। तर त्यतिखेर केपी ओलीले 'फेरि एमसीसी? के राष्ट्रघाती छ?' भनेर भन्नुभयो। र हाम्रो प्रस्तावलाई अस्वीकार गर्नुभयो।'
भेटमा आफूहरुले एमसीसी भन्ने धेरै संवेदनशील मुद्दा हो, यो शुद्ध आर्थिक सहयोगको परियोजना मात्रै होइन भन्ने आफूहरुलाई लागेको बताएको श्रेष्ठको भनाइ छ। एमसीसीलाई असफल पारेर राष्ट्रियताको मुद्दामा फेरि मिलौँ भन्ने आफूहरुको प्रस्ताव रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।