काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली एक्ला एक्लै छलफल भएको छ। देउवा र ओलीबीच संसद् भवन नयाँ बानेश्वरमा दुई नेताबीच छलफल जारी रहेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
'अहिले दुई जनाको बीचमा भित्र कुराकानी भइरहेको छ। अब उहाँहरुको बीचमा आन्तरिक भएको कुराकानी बाहिर हामीलाई त्यतिधेरै जानकारी अहिले हामीलाई छैन' उनले भने, ' मुलुकलाई कसरी अगाडि बढाउने, कसरी असार २८ गते बनेको अप्राकृतिक किसिमको गठबन्धन छ, यसलाई कसरी मुलुकको हितमा लगाउने वा गठबन्धन चल्दै नचल्ने स्थिति बनेको हो भने कसरी अगाडि बढ्ने भनेर प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्रीले कुरा गर्न चाहेको हामीले बुझेका छौँ।'
दुई नेता एक्ला एक्लै छलफलमा बस्नु अघि छलफलमा प्रधानमन्त्री देउवासहित नेपाली कांग्रेसका महामन्त्री गगन थापा र कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी भएका थिए। यस्तै, एमालेबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ सहभागी थिए।
आजको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवाले केही समय एमालेका 'सीमित' सांसदहरुसँग छलफल गरेका थिए। त्यसपछि ओलीसँग उनले छलफल सुरु गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।