पोखरा- पर्यटकीय नगरी पोखरामा शुक्रबारबाट खेलकुदको कुम्भमेला आरम्भ भएको छ। २३ असोजबाट केही खेल सुरु भए पनि शुक्रबारबाट औपचारिक रूपमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ।
३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना भएको प्रतियोगिताका सबै जसो खेल पोखरा रंगशाला केन्द्रित छन्। गण्डकी प्रदेशमा भएको नवौं खेलकुदमा ६ हजार १ सय खेलाडीसहित अफिसियल, व्यवस्थापक सहभागी छन्। पूरै पोखरा उत्सवमय बनेको छ।
प्रतियोगिता उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय खेलकुद खेलाडी, सम्बद्ध पदाधिकारी र समर्थकका लागि यो ठूलो महोत्सव भएको बताए। राष्ट्रिय खेलकुदले अवसर तथा सम्भावना सिर्जना गरेको उनले सुनाए ।
‘हरेक २ वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुदको हामी नवौं संस्करणमा आइपुगेका छौँ,’ उनले भने, ‘४१ वर्षअघि भएको राष्ट्रिय खेलकुदको प्रथम संस्करणबाट यहाँसम्म आइपुग्दा नेपाली खेलकुदले थुप्रै उतारचढाव पार गरेको छ । यहाँ थुप्रै कीर्तिमान बनेका छन् । अवसर सिर्जना र चुनौती पन्छिदै गएका छन् । भौतिक पूर्वाधार निर्माण हुँदै गएका छन् ।’
नवौं खेलकुदले यो क्षेत्रमा दूरगामी सकारात्मक प्रभाव पार्ने युवा तथा खेलकुद मन्त्री महेश्वर गहजराजले बताए। खेलकुदको विकासमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले आ आफ्ना ठाउँबाट नीति, योजना र कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड छ।
प्रतिस्पर्धामा जे परिणाम आए पनि उच्च मनोबलका साथ मैदानमा उत्रिन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेलाडीलाई आग्रह गरे। ‘खेल खेलिसकेपछि एउटा परिणाम आउँछ, जे परिणाम आओस्, उच्च मनोबलका साथ, उच्च उत्साहका साथ लाग्नुहुनेछ भन्ने अपेक्षा छ,’ उनले भने ।
नवौं खेलकुदमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा जारी छ । यसपटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपिएफ र नेपाल आर्मीसहित ७ प्रदेशका ७ टिम र एनआरएनए गरी ११ टिमका खेलाडी सहभागी छन् । ३६ खेलका ४ सय ४ इभेन्ट्समा प्रतिस्पर्धा हुँदैछ।
उद्घाटन शुक्रबार भए पनि केही खेल सुरु भइसकेका छन्। फेन्सिङका सबै इभेन्ट सकिएका छन् भने अन्य खेलका इभेन्ट चलिरहेका छन्। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङतर्फ सर्वाधिक १६ पदक जित्दै नेपाल आर्मी च्याम्पियन बनेको छ। पुरुष क्रिक्रेट भने यसअघि नै काठमाडौंमा सकिएको छ।
आर्मीले ५ स्वर्ण, ५ रजत र ७ काँस्य जितेको छ । बागमती प्रदेशले ४ स्वर्ण, ३ रजत र १ काश्यसहित ८ पदक, एपिएफ क्लबले २ स्वर्ण, ४ रजत र ७ काश्यसहित १३ पदक, सुदूरपश्चिम प्रदेशले १ स्वर्ण, २ काश्यसहित ३ पदक जित्दा गण्डकी ४ काश्य पदकसहित पाँचौं र प्रदेश एक ३ काश्यसहित छैटौँ स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।