काठमाडौं– नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन्।
बुधबार राति सम्पन्न निर्वाचनमा चन्दले अर्का प्रत्यासी निरोज मास्केलाई २६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचनमा १२८ मत खसेको थियो। चन्दले ७६ मत प्राप्त गरे भने मास्केले ५० मत ल्याएकी थिइन्।
महासचिवमा चन्द प्यानलकै रोशन श्रेष्ठ निर्वाचित भए। रोशनले ८५ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी मनवीर छन्त्यालले ३९ मत ल्याए। कोषाध्यक्षमा पनि चन्द प्यानलकै श्यामकृष्ण श्रेष्ठ ७८ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी रिता कोइरालाले ४६ मत पाइन्।
सात उपाध्यक्षमध्ये बागमती प्रदेशमा गौतमप्रसाद लासिवा विजयी भए। लासिवाले ६४ मत पाउँदा उनको प्रतिस्पर्धी ज्योति केसीले ५९ मत प्राप्त गरिन्। बाँकी ६ उपाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए।
निर्विरोध हुनेमा प्रदशे १ बाट मदन खड्का, मधेसबाट उपेन्द्र यादव, गण्डकीबाट यामबहादुर गुरुङ, लुम्बिनीबाट भीम ओली, कर्णालीबाट भरतबहादुर शाह र सुदूरपश्चिमबाट हर्कसिंह धामी छन्।
त्यस्तै, सात सविच पदमध्ये लुम्बिनी प्रदेशका लागि भएको चुनावमा झकबहादुर मिदुन विजयी भए। मिदुनले ७३ मत ल्याए। मिदुनका प्रतिस्पर्धी दीपक जीएमले ३७ प्राप्त गरे। सचिवमै प्रदेश १ का लागि भएको निर्वाचनमा विनोद सुवेदी ६५ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी विश्वराज धिमालले ४४ मत प्राप्त गरे।
सचिवमा पनि बाँकी पाँच जना निर्विरोध निर्वाचित भएका थिए। मधेसबाट महम्मद फिरोज, बागमतीबाट सुनकेशरी माली, गण्डकीबाट श्रीधर शर्मा, कर्णालीबाट सोमबार श्रेष्ठ र सुदूरपश्चिमबाट गणेशसिंह ठगुन्ना निर्विरोध निर्वाचित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।