काठमाडौं– राष्ट्र बैंकले दशैँलगायत चाडपर्वका लागि नयाँ नोट २९ भदौदेखि साट्ने व्यवस्था मिलाएको जनाएको छ।
विशेषत: दसैंमा नयाँ नोटको प्रचलन रहेका कारण पनि हरेक वर्षझैं यसपटक पनि राष्ट्र बैंकले सर्वसाधारणलाई काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यकाबाहिर २ असोजदेखि नयाँ नोट साट्न सक्ने व्यवस्था गरेको हो ।
२६ भदौदेखि बैंक तथा वित्तीय संस्थाहरूले नयाँ नोट पाउने अनि सर्वसाधारणले उपत्यकामा २९ भदौ तथा उपत्यका बाहिर २ असोजबाट नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् । जसमा ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक/एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँको सीमा गत वर्ष पनि तोकिएको थियो ।
नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयका साथै बैंक तथा वित्तीय संस्थाहरुका विभिन्न शाखा कार्यालयमा गएर पनि नयाँ नोट साट्न सकिन्छ ।
राष्ट्र बैंकसँग साना दरका १० अर्बभन्दा बढी नयाँ नोट मौज्दात रहेको छ । गत वर्ष ८ अर्बको नयाँ नोट सटही भएको भए पनि यस वर्ष डिजिटल पेमेन्टको प्रवृत्ति बढेका कारण कम माग हुने राष्ट्र बैंकको अनुमान छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।