काठमाडौं– दसैं, तिहार र छठका लागि भदौ २९ गतेदेखि नागरिकले नयाँ नोट साट्न पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही सुविधाको मिति तोकेको नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले नेपाल लाइभलाई बताए।
सर्वसाधारणले काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यका बाहिर भने असोज २ गतेदेखि नयाँ नोट साट्न सक्ने उनको भनाइ छ। राष्ट्र बैंकले २६ भदौदेखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने छ।
राष्ट्र बैंकले बैंकहरुलाई नोट सटही सुविधा प्रदान गर्नका लागि शाखा हेरर ५ देखि १० करोडसम्म रुपैयाँ प्रदान गरेको उनको भनाइ छ।
राष्ट्र बैंकले नियमित रुपमा नै आफ्ना कार्यालयहरु र बैंक तथा वित्तीय संस्थामार्फत् नयाँ नोट वितरण गरिरहेको भए पनि चाडपर्वमा नयाँ नोट सटही उच्च हुने हुँदा राष्ट्र बैंकले सोही अनुसार व्यवस्थापन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।