काठमाडौं– पछिल्लो समय केही चलचित्र निर्माण टिमले हलमा शो नपाएको गुनासो गरिरहेको अवस्थामा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बोर्डले प्रदर्शनमा रहेको चलचित्रलाई शो दिलाउने काम नगर्ने स्पष्ट पारेका छन् । बोर्डले चलचित्रलाई हलमा शो दिने काम गर्दैन भन्ने तथ्यलाई बुझिदिन उनले आग्रह गरेका हुन्।
शुक्रबार 'सम्हालिन्छ कहिले मन' को प्रिमियर शो पछि अध्यक्ष केसीले बोर्डले चलचित्रको शो दिने भन्नेकुरा कतिपयले अभिव्यक्त गरिरहेको उल्लेख गर्दै बोर्डले शो दिने नभइ नीति निर्माण मात्रै गर्ने भएको बताए।
बोर्डकै कारण कुनै चलचित्रले शो धेरै र कुनैले कम पाएको भन्ने कुरा नुबुझ्न उनको आग्रह छ। उनले चलचित्र विकास बोर्डले शो दिँदैन भन्ने कुरा नबुझेका मानिसले भनेको उल्लेख गर्दै विकास बोर्ड सबै चलचित्रलाई समान रुपमा समेटेर अघि बढ्ने बताए। चलचित्र ‘प्रकाश’ले सुरुमा कम शो पाउँदा त्यसमा भुवन केसीको हात रहेको भन्दै कतिपयले उनलाई सामाजिक सञ्जालमा गाली गरेका थिए।
उनले कलाकारहरुले नै कतिपय ठाउँमा ‘प्रेम गीत–३’का बारेमा विभिन्न भ्रामक हल्ला फिँजाइरहेको भन्दै आपत्ति जनाए। उनले कलाकारले लेखेका र बोलेका कुराले आम नागरिकमा चासो र चिन्ता पर्ने भएकाले सत्य बोल्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।