काठमाडौं— अधिवक्ता शशी बस्नेतले आफन्तबाटै बलात्कार भएका दुईवटा घटना हेरिराखेकी छन्। एउटा हाडनाता करणी हो। अर्को चाहिँ सोल्टीले दिदीबहिनीलाई नै बलात्कार गरेको घटना।
काठमाडौंमा बस्दै आएका एक दम्पती सम्बन्ध बिग्रेपछि कानुनी रुपमा अलग भए। उनीहरूको एक जना छोरी छिन्। पारपाचुके भैसकेपछि छोरी आमा बुबा दुवैसँग बस्थिन्। छोरी कान सुन्दिनन्। उनको मानसिक अवस्था पनि सुस्त छ।
सुस्त मनस्थितीकै कारण त्यति धेरै बोल्दिनन्। उनी बुबासँग बस्न मान्दिन थिइन्। कहिलेकाहीँ आमाले कर गरेर बुबासँग बस्न पठाउँथिन्।
छोरीमा एकाएक परिवर्तन आयो। झनै नबोल्ने, टोलाउने गर्न थालिन्। निरास हुने, झस्किने गर्न थालिन्। दुब्लाउँदै पनि गइन्। केही रोग लागेको आशंकामा उनले छोरीलाई चेकजाँचका लागि विभिन्न अस्पताल पुर्याइन्। तर, रोग पत्ता लागेन।
यसैबीच पिसाब गर्दा छोरी रोएको उनले थाहा पाइन्। योनीबाट रगत बगेको पनि देखिन्। त्यसपछि कान्ति बाल अस्पताल लगिन्। योनीमा चोट देखेपछि चिकित्सकले बलात्कार भएको हुन सक्ने आशंका गरे।
छोरीलाई सोध्दा भन्न मानिनन्। फकाउँदै सोध्दा झन्डै एक वर्षपछि बल्ल बुबाले बलात्कार गरेको बताइन्। आमा छाँगाबाट खसेझैँ भइन्। बुबासँग जान नमानेको रहस्य बल्ल उनले थाहा पाइन्।
सबै कुरा थाहा पाएपछि उनले पूर्वपतिविरुद्ध हाडनाताकरणीको मुद्दा दायर गरिन्। मानसिक रूपमा सुस्त छोरी अहिले झनै बिरामी छिन्। शारीरिक र मानसिक दुवै समस्या छन्।
अर्को घटना पनि काठमाडौंकै हो। दुई दिदीबहिनी एक जना आफन्तबाटै बलात्कृत भए। ती ‘आफन्त’ आमासँग सोल्टीका नाता पर्छ। दुवै परिवारले साझा लगानी गरेर घर किनेका छन्। एकै परिवारजस्तो भएर बसेका थिए।
कोरोनाको पहिलो लहर थियो। लकडाउन घोषणा भइसकेको थियो। दुई नाबालिग दिदी बहिनी घरमै बस्थ्ये। परिवारका अरु सदस्य भने काममा जान्थे। घरमा एक्लै बसेको मौका छोपेर दिदीलाई ती व्यक्तिले पटकपटक बलात्कार गरे। यो क्रम करिब एक वर्षसम्म चल्यो।
ती बालिकाले घरमा भन्न सकिनन्। त्यसबाट बलात्कारीको हिम्मत बढ्यो। उसले बहिनीलाई पनि बलात्कार ग¥यो। दिदीलाई बलात्कार गर्ने गरेको बहिनीलाई थाहा थिएन। बहिनीले आफूमाथि भएको घटना दिदीलाई सुनाइन्। अनि दिदीले पनि बहिनीलाई सुनाइन्। तर, दुवै जनाले परिवारका सदस्यलाई भनेनन्।
ती व्यक्तिले एक वर्षसम्म दिदीबहिनीलाई नै बलात्कार गरिरहे। यो क्रम निरन्तर दोहोरिरहँदा उनीहरूमा मानसिक समस्या सुरु भयो। टोलाएर बस्न थाले। आमाले विभिन्न क्लिनिक र परामर्श केन्द्र लगिन्, तर केही पत्ता लागेन।
एकदिन आर्थिक लेनादेनाको झगडा भयो। आमाको ती आफन्तसँग ठूलो झगडा भयो। उसले आमालाई मार्नेसम्मको धम्की दियो। झगडा गरेको बेला ‘बलात्कार गरिदिने’ धम्की पनि दियो। यो कुरा सुनेका दिदीबहिनीले बल्ल घटना परिवारलाई भन्ने हिम्मत गरे।
दिदीलाई भन्दा बहिनीलाई बढी शारीरिक र मानसिक आघात परेको थियो। परिवारले उनको उपचारका लागि धेरै वटा अस्पताल लगे। लाखौँ खर्च गरे। तर, उनी झन् थलिँदै गइन्। करिब एक महिनाअघि उनको मृत्यु भयो। उक्त मुद्दा अहिले जिल्ला अदालत काठमाडौँमा विचाराधीन छ।
प्रहरीको तथ्यांक– आफन्तबाट हुने बलात्कारका घटना बढ्दो
नेपाल प्रहरीको अभिलेख अनुसार पछिल्लो पाँच वर्षमा आफन्तबाट हुने बलात्कारका घटना क्रमशः बढिरहेको छ। आर्थिक वर्ष २०७४/७५ मा जम्मा बलात्कारका घटना १ हजार ६७४ वटा भएका थिए। जसमा १३७ वटा घटना आफन्तबाटै भएका थिए। आव २०७५/७६ मा जम्मा बलात्कारका घटना २ हजार ५७० वटा हुँदा १६९ वटा घटना आफन्तबाटै भएका थिए।
आव २०७६/७७ मा बलात्कारका घटना २ हजार ४४९ वटा हुँदा १९० वटा आफन्तबाट भए। त्यसैगरी आव २०७७/७८ मा २ हजार ८१५ वटामध्ये ३२३ वटा घटना आफन्तबाटै भए।
आर्थिक वर्ष २०७८/७९ को वैशाखसम्मको अभिलेखअनुसार २ हजार ८० घटना भएका छन्। जसमध्ये २०४ वटा आफन्तबाट भएका छन्। प्रहरीको तथ्यांक अनुसार बलात्कार गर्नेमा हजुरबुबा, बुबा, झड्केलो बुबा, ससुरा, काका, मामा, दाजुभाइ, देवर, जेठाजु, भदा, भिनाजु छन्। पछिल्लो पाँच वर्षमा घरमालिका, केटासाथी, शिक्षक, अन्य चिनेजानेको, पारपाचुके भएको श्रीमानलगायतबाट पनि बलात्कार भएको छ।
के भन्छन् सरोकारवाला निकाय?
अधिवक्ता शशी बस्नेतका अनुसार पनि आफन्तले बलात्कार गरेको घटनामा पीडित निकै ढिला बोल्ने गरेका छन्। ‘घरपरिवार, समाज, इज्जत र भविष्यको भयका कारण आफन्तबाट भएको जबरजस्ती करणीमा बोल्न सक्दैनन्,’ उनी भन्छिन्।
आफ्नो प्रतिरक्षा गर्न नसक्ने बालबालिकालाई बलात्कारीले ‘तार्गेट’ गर्ने गरेको बस्नेतको भनाइ छ। आफन्तले बलात्कार गरेको भन्दा परिवारले विश्वास नगर्ने हुँदा उनीहरूलाई बोल्न गाह्रो भएको उनले बताइन्।
सुस्त मनस्थिती वा बोल्न नसक्नेहरू धेरै बलात्कारमा पर्ने गरेको बस्नेतको भनाइ छ। ‘पृतिसत्ता समाजमा छोरी हुर्काइको संरचना फरक छ। बुबाले नै छोरीलाई बलात्कार गरेको घटना धेरै छन्। महिलामाथि हुने अपमानको संस्कार पनि यसमा दोषी छ,’ उनले भनिन्।
अनुसन्धानकर्ता राजु चापागाईंका अनुसार पीडितहरु नावालिग हुँदा परिवार र समाजबाट बिस्थापित हुने वा आफूलाई विश्वास नगर्ने डरले पनि भन्न सकेका हुँदैनन्। नेपालमा त्यस्ता पिडितलाई पुनस्र्थापना गर्ने व्यवस्था नभएक कारण पनि खुल्न डराएको उनको भनाइ छ।
अधिवक्ता र्मिला श्रेष्ठका अनुसार आफन्तबाट बलात्कारका घटना बढ्नुमा वैदेशिक रोजगारी पनि एउटा कारण हो। ‘समाजले नै महिलालाइ दोस्रो दर्जामा राखेको छ। आफन्तलाई बलात्कार गर्दा सजिल्यै बोल्न नसक्ने अवस्था पिडकले थाहा पाएर नै घटना बढिरहेका छन्,’ उनले भनिन्, ‘मेरो अध्ययनमा पनि बालबालिका, आर्थिक रुपमा विपन्न महिला, एकल महिला र वैदेशिक रोजगारीमा गएका घरहरुमा महिलामाथि ससुरा, देवर, जेठाजुबाट बलात्कार भएको छ।’
नेपाल प्रहरीका प्रवक्ता विष्णु कुँवर भने सामाजिक सञ्जालको नकारात्मक प्रयोग र कसुरदारले पनि आफन्तलाई सजिलै विश्वास गराउन सक्ने हुँदा यस्ता घटना बढेको बताउँछन्।
यस श्रृंखलाका अन्य सामग्री
बलात्कार मुद्दामा प्रभावशालीसामु निरीह पीडित
उकालो लाग्दो बलात्कारको ग्राफ: ५८ महिनामा १० हजार ३३२ उजुरी, अधिकांश पीडित १६ मुनिका
एकाध महिलाको गल्तीलाई जोडेर हदम्याद राख्ने कुरा पितृसत्तात्मक सोच : अधिवक्ता ढुंगाना [अन्तर्वार्ता]
योगप्रसाद उपाध्यायदेखि गंगा चौधरीसम्म : बलात्कारका विषयमा नेताकै अभिव्यक्ति असंवेदनशील
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।