काठमाडौं- चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीले आगामी आर्थिक वर्षको बजेट निर्माण आफूहरुको चासो र सरोकार बाहिरको कुरा रहेको बताएका छन्।
बजेट निर्माणका क्रममा चौधरी ग्रुपलाई फाइदा पुग्ने गरि काम गरिएको भन्दै आलोचना भइरहेको भन्दै उनले स्पष्टीकरण दिएका हुन्।
बजेट निर्माणका क्रममा अर्थमन्त्रालयलमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै अर्थमन्त्रीको आलोचना भइरहँदा चौधरीले बजेट निर्माणमा आफूहरुको कुनै चासो र सरोकार नरहेको दाबी गरेका हुन्।
सामाजिक सञ्जालमा चौधरीले लेखेका छन्, ‘बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौं। बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ।’
उनले बिना आधार आफुहरुलाई आरोप लागेको भन्दै त्यसप्रति खेद प्रकट गरेका छन्। उनले आरोप लगाउनेहरुमाथि त्यसको पुष्टि गर्न चुनौती दिएका छन्।
‘यस सम्वन्धमा छानबिन गरि सत्यतथ्य बाहिर ल्याउन हामी सम्वन्धित निकायहरुलाई आग्रह गर्दछौं। यस मामिलामा यदि हाम्रो संलग्नता कहिँ कतै पुष्टि भएमा हामी कारबाही भोग्न तयार छौं।’
चौधरी ग्रुपमाथि आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेरमा संलग्न भएको आरोप लागेको छ। अर्थमन्त्रीले मध्येरातमा करको दर हेरफेरका लागि लगेका पूर्व नासु रघुनाथ घिमिरे चौधरी ग्रुपका कर्मचारी भएको र उनले ग्रुपलाई सहयोग पुग्नेगरी करको दर हेरफेर गरेको आरोप लागिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।