काठमाडौं– आन्तरिक राजस्व विभागले प्राकृतिक व्यक्तिको लागि लागू हुने करको दर सार्वजनिक गरेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा आयकरको सीमा हेरफेर गरेको छ। बजेटमा गरिएको व्यवस्थाअनुसार विभागले करको दर सार्वजनिक गरेको हो।
जसअनुसार अब अविवाहितले वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दा १ प्रतिशत मात्रै कर बुझाए पुग्छ। विवाहितको हकमा ६ लाख रुपैयाँसम्म कमाउँदा १ प्रतिशत कर तिरे पुग्छ। यसैगरी, ५ लाख रुपैयाँभन्दा बढी ७ लाख रुपैयाँसम्म आम्दानी गर्ने अविवाहित र ६ लाख रुपैयाँभन्दा बढी ८ लाख रुपैयाँ आम्दानी गर्ने विवाहितले १० प्रतिशत कर तिरे पुग्छ।
साथै, ७ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्ने अविवाहित र ८ लाख रुपैयाँभन्दा बढी र ११ लाख रुपैयाँसम्म आम्दानी गर्नेले २० प्रतिशत कर बुझाए पुग्छ। यदि अविवातिले वार्षिक १० लाखदेखि २० लाख रुपैयाँसम्म र विवाहितले ११ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्छ भने यसमा ३० प्रतिशत कर बुझाउनुपर्छ।
यसैगरी, २० लाखभन्दा माथि आम्दानी गर्ने एकलले ३६ प्रतिशत र विवाहितको हकमा २० लाखभन्दा माथि जतिसुकै करयोग्य आय भएमा थप २० प्रतिशतका दरले कर लाग्छ। तीस लाख रुपैयाँ कर योग्य आय हुने अविवाहितले वार्षिक ७ लाख ४५ हजार रुपैयाँ र विवाहितको हकमा ७लाख १६ हजार रुपैयाँ आयकर बुझाए पुग्छ ।
एकलौटी फर्म दर्ता भएका करदाताको हकमा निवृत्तिभभरण वापत आय, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा १ प्रतिशत कर लाग्ने छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।