काठमाडौं– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ। अझै पनि मृतकको संङ्ख्या बढ्न सक्ने एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन्।
चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति करिब ९ः३० बजे आगलागी भएको थियो। आगलागीमा परेर २५ जनाको ज्यान गइसकेको प्रहरी अधिकारीहरुले पुष्टि गरेका छन्।
चटगाँउ जिल्लाका प्रहरी प्रमुख मोहमद मोमिनुर रहमानले शनिबार राति आगो लागेको र त्यस भीषण आगलागीमा पाँच अग्निनियन्त्रकसहित २५ जनाको मृत्यु भएको बताए।
मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको स्वास्थ्य विभागका निर्देशक हसन सहरियारले एएफपीलाई बताएका छन्। आगलागी भएको करिब एक घण्टापछि सयौं मानिसहरूले आगो निभाउने प्रयास गरिरेहको अवस्थामा केमिकल राखेका धेरै कन्टेनरहरू विस्फोट भएको बताइएको छ।
सो आगलागीमा परी ४० अग्निनियन्त्रक र १० प्रहरीसहित २०० भन्दा बढी घाइते छन्। आगलागीसँगै ठूलो विस्फोट पनि भएकोले दर्जनौं अग्नि नियन्त्रकसहित घाइते भएका थिए। चटगाउँको एक स्थानीय अस्पतालका चिकित्सकले जलेको अवस्थामा रहेका कैयौँ मानिस गम्भीर अवस्थामा रहेका पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।