काठमाडौं- आफूसँग विवाहको टुंगो लागेको पुरुषले धोका दिएको भन्दै जेल पठाउने एक महिला प्रहरी अधिकारीलाई भारतको आसाम प्रहरीले पक्राउ गरेको छ।
गत महिना माजुली प्रहरीले सई जुनमोनी राभालाई 'आपराधिक योजना' र 'धोका' को आरोपमा पक्राउ गरेको हो। उनले आफ्नो हुनेवाला दुलाहालाई त्यस्तै आरोपमा पक्राउ गरेकी थिइन्।
प्रहरी एसपी गौतम बोराले सई राभाको गिरफ्तारी पुष्टि गर्दै भने, 'महिला प्रहरी राभालाई विभिन्न आरोपको आधारमा शनिबार पक्रेका हौँ। मुख्य रूपमा उनीमाथि धोखाधडी र ठगीको आरोप लागेको छ।'
प्रहरीका अनुसार माजुलीमा तैनाथ रहँदा राभाले आफ्नो हुनेवाला दुलाहासँग मिलेर केही मानिसलाई ठगी गरेका थिए।
दुई जना ठेकेदारले राभाका हुनेवाला पति राणा पोगागविरुद्ध दुई भिन्न उजुरी दर्ता गरेका थिए। ती दुवै उजुरीमा उनले वित्तीय ठगी गरेको आरोप लगाइएको थियो।
निवेदकहरूका अनुसार राभाले नै उनीहरूलाई पोगागसँग भेटाएकी थिइन्। महिला प्रहरी अधिकारीमाथिको भरोसाकै कारण आफूहरूले पोगागलाई तेल र प्राकृतिक ग्यास निगमको ठेक्का प्राप्त गर्नका निम्ति रकम बुझाएका थिए।
माजुली प्रहरीले उजुरीमा राभाको नाम देखिएपछि शुक्रवार उनीसँग सोधपुछ गरेको थियो र शनिवार उनलाई पक्राउ गर्यो।
पोगागले ठगीको रकम यी महिला प्रहरी अधिकारीको ब्याङ्क खातामार्फत लिने गरेको आरोप छ।
तीमध्ये माजुलीस्थित क्यानडा ब्याङ्कको खातामा ११ लाख ३३ हजार र एक्सिस ब्याङ्कको खातामा नौ लाख १४ हजार रुपैयाँ लिएको आरोप छ।
पोगाग हाल नौगाउँ थानामा छन्। उनलाई भारतीय दण्ड संहिताको धारा १२० बी, १७०, ४०६, ४१९, ४२०, ४६८, ४७१ र ४७२ अन्तर्गत पक्राउ गरिएको थियो।
गत वर्ष अक्टोबरमा जुनमोनी र राणाको टिकोटालो गरिएको थियो र यसै वर्ष नोभेम्बरमा यी दुईको विवाह हुने भनिएको थियो।
तर त्यसअघि नै उनले आफ्नो हुनेवाला श्रीमानमाथि धोका दिएको आरोप लगाइ पक्राउ गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।