काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंक लाल घिसिङ र चार पटक ओलम्पिकमा सहभागिता जनाइसकेकी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरबीच शुक्रबार भेटघाट भएको छ। सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा सब्रिनालाई भेटेका हुन्।
सब्रिना विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल आएकी हुन्। अस्ट्रियाकी सब्रिनाले गत मे १६ तारिखमा सगरमाथाको सफल आरोहण गरिसकेकी छन्।
सदस्य–सचिव घिसिङले सब्रिना र उनको भ्रमण दलमा रहेका अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) का मिडिया डाइरेक्टर निकोलसलाई मायाको चिनो प्रदान गरे। सब्रिना पनि आईजेएफको कमिटीमा आबद्ध छिन्।
सो अवसरमा सदस्य–सचिव घिसिङले सगरमाथा सफलतापूर्वक आरोहण गरेकोमा सब्रिनालाई बधाइ दिँदै खेलाडीले खेल्नुका साथै अन्य चुनौतीपूर्ण कार्य पनि गर्न सक्छन् भन्ने सन्देश दिन सफल भएको धारणा व्यक्त गरे। सब्रिनाले आफ्नो यात्राका बारेमा सदस्य–सचिव घिसिङलाई जानकारी गराइन्।
सगरमाथा आरोहण यात्रा सब्रिनाले पश्चिम बंगालको डिघास्थित समुद्री सतहको जिरो लेभलबाट सुरु गरेकी थिइन्। त्यहाँदेखि बेस क्याम्पसम्म पुग्न सब्रिनाले साइकल र पैदल यात्रा गरेकी थिइन्। त्यो यात्रामा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता साइक्लिस्ट लक्ष्मी मगर र अर्का साइक्लिस्ट हर्कबहादुर तामाङले सब्रिनालाई सहयोग गरेका थिए।
सदस्य–सचिव घिसिङले उनीहरूलाई पनि मायाको चिनो प्रदान गरे। सब्रिनाले बेइजिङ, लन्डन, रियो र टोकियो ओलम्पिकमा सहभागिता जनाएकी छन्। विश्व च्याम्पियनसिपमा २ कास्य सब्रिनाको नाममा छ।
युरोपियन च्याम्पियनसिपमा १० पदक जित्दा २ पटक आफ्नो स्पर्धामा च्याम्पियन नै भइन्। सगरमाथाअघि सब्रिनाले आमादब्लम र मनास्लुको पनि सफल आरोहण गरिसकेकी छन्। सब्रिना जुन ८ तारिखमा स्वदेश फर्किँदै छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।