काठमाडौं– ‘कबड्डी–४: द फाइनल म्याच’की अभिनेत्री मिरुना मगरलाई फिल्म हेर्न आएका एक दर्शकले 'ब्याड टच' गरेको प्रकरण अहिले साम्य भएको छ। दुवै पक्षले एकअर्कासँग माफी माग्दै यो विषयलाई बन्द पनि गरिसकेका छन्। तर, पनि सामाजिक सञ्जालमा मिरुना विरुद्ध भइरहेको विभिन्न टिकाटिप्पणी तथा आलोचना भने रोकिएको छैन।
यसबीच फिल्मका लेखक उपेन्द्र सुब्बाले मिरुनासँग माफी माग्दै समाज संक्रिर्ण र साम्प्रादायिक भइसकेको बताएका छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले मिरुनासँग माफी मागेर समाज यस्तो कुरुप बन्नुमा आफ्नो पनि हात भएको बताएका छन्।
उनले लेखेका छन्, ‘पहिचानको पक्षमा २० वर्ष यता निरन्तर लेख्दै, बोल्दै आएको म एउटा सानो लेखक। तर, मलाई पत्तै भएन हाम्रो समाज यती संकिर्ण र साम्प्रदायिक भइ सकेछ। पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भइ सकेछौं। मेरो जाति, मेरो भाषा, मेरो मान्छे, यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भइ सकेछौं। होइन भने त जो जोले मिरुना मगरलाई तथानाम गाली गर्दै हुनु हुन्छ, फुर्पा भाइको ठाउँमा अरु कोही बाहुन पूजारी कि त क्रिश्चियन पास्टर भएको भए पनि यसोरी नै गाली बेइज्जत गर्नु हुन्थ्यो होला?’
आफू आदिवासी हुनुमा गर्व भएको महसुस गर्ने भएपनि अहिले भने समाज कुरुप भएकोमा असहज महसुस भइरहेको सुब्बाको भनाइ छ। सुब्बाले दुवै पक्षबीच मिलापत्र भइसकेको र कसैले पनि एकअर्कालाई आरोप प्रत्यारोप नगर्ने भन्ने भएकाले दोष कसको थियो भन्ने खोतलेर तर्क बितर्क नगर्न आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमा सिसिटिभी भन्दै मोबाइलबाट खिचिएको भिडियो फैलाइएको बताउँदै प्रश्न गरेका छन्, ‘टिकटक भ्युज पाउनलाई बनाएको सामाग्रीलाई सत्य मानेर आफ्नो धारणा बनाउनु कति जायज हो? ती भिडियो जसले पोस्ट गरेका छन्, तिनका अकाउन्ट खोलेर हेर्नुस्, के त्यो व्यक्ति त्यति विश्वस्निय छ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।