काठमाडौं– फेसबुकको मूल कम्पनी मेटाकी सीओओ (चिफ अपरेटिङ अफिसर) शेरिल स्यान्डबर्गले पदबाट राजीनामा दिएकी छन्।
कम्पनीले बुधबार उनले राजीनामा दिएको पुष्टि गरेको हो। तर, शेरिलले कम्पनी छोड्नुको कारण भने खुलाइएको छैन।
शेरिलले राजीनामापछि आफ्नो पूर्ण ध्यान समाजको लागि परोपकारी काममा केन्द्रित गर्ने योजना बनाएको बताइएकी छन्। उनको फेसबुकको यात्रा करिब १४ वर्षसम्म चलेको थियो।
सीएनएनका अनुसार उनले फेसबुकमा लेखेकी छन्, ‘सामाजिक सञ्जालको बहस सुरुका दिनदेखि धेरै परिवर्तन भएको छ। यो सबै भन्न मलाई सधैं सजिलो छैन। तर, यो काम गाह्रो हुनुपर्छ। हाम्रो निर्मित उत्पादनले मानिसहरूको ठूलो समूहमा प्रभाव पार्छ। त्यसकारण हामीले यसलाई जनताको गोपनीयता र गोपनीयताको रक्षा गर्ने, उनीहरूलाई सुरक्षित राख्ने गरी बनाउने जिम्मेवारी छ।’
यद्यपि, अर्को फेसबुक पोस्टमा मेटाका सीईओ मार्क जुकरबर्गले उनले कम्पनीको बोर्ड अफ डाइरेक्टरमा सेवा गरिरहने बताएका छन्।
कम्पनीका प्रमुख ग्रोथ अफिसर जेभियर ओलिभान अब अर्को सीओओ हुनेछन्। तर, जेभियरको भूमिका शेरिलले कम्पनीको लागि अहिलेसम्म गरेको भन्दा फरक हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।