काठमाडाैं-पहिलो पल्ट फ्रेञ्च ओपन खेलिरहेकी १९ वर्षीया चिनियाँ खेलाडी झेङ किनवेन चौथो चरणको खेलमा विश्व नम्बर १ खेलाडी इगा स्विटेकसँग पराजित भइन्। उनलाई विश्व नम्बर १ खेलाडीलाई पराजित गर्न नसकेकोमा दुःख लागेको छ।
खेल सम्पन्न भएपछि उनले भनिन्, ‘सायद म केटा भएको भए पिरियडको समस्या भोग्नुपर्ने थिएन।’ उनले पहिलो सेट जितेकी थिइन्। तर, बाँकी दुई सेट गुमाउन पुगेपछि पराजय भोग्नु पर्यो।
झेङले पहिलो सेट ७–६ को टाइब्रेकरमा जितेकी थिइन्। त्यसपछि ०–६ र २–६ ले खेल गुमाइन्। झेङले खेल अवधिमा मेडिकल ब्रेक पनि लिएकी थिइन्। वास्तवमा उनी यतिबेला महिनावारी समस्याबाट गुज्रिएकी थिइन्। उनले भनिन्, ‘चोटको कारण म चिन्तित थिइनँ। बरु पिरियडको समस्याले दिक्क थिएँ।’
खेलभन्दा अगाडि उनीमा महिनावारीको समस्या देखिएको थियो। जसले गर्दा पेट दुखिरहेको उनको भनाइ थियो। ‘मेरो पिरियडको पहिलो दिन थियो। जहिले पनि मलाईं पहिलो दिन धेरै नै समस्या हुन्छ। म प्राकृतिक कुराभन्दा बाहिर जान सक्दिनँ। यदि म पुरुष भएको भए, यो समस्या आइपर्दैनथ्याे,’ उनले भनिन्।
चीनकी उदीयमान खेलाडी झेङले दोस्रो चरणको खेलमा सन् २०१८ कि विश्व नम्बर १ तथा च्याम्पियन खेलाडी सिमोन हालेपलाई पराजित गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।