काठमाडौं– नेपालका एकमात्र डलर अर्बपति एवम् नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले आवश्यक पूर्वाधार र संरचना निर्माण गर्न सके चीन र भारतबाट मात्रै वार्षिक ५० लाख पर्यटक नेपालमा भित्र्याउन सकिने बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन्।
‘बजेट निकै राम्रो छ। युवाका पक्षमा समावेश गरिएको छ। समस्या पैसाको होइन रहेछ भन्ने कुरा विगतका आयोजना लगायतले प्रष्ट भइसकेको छ,’ उनले भने, ‘प्रदेशलाई जिम्मेवार बनाउने र बजेट दिने कामलाई नकारात्मक रुपमा हेर्न सक्दैनौं।’
पूर्वपश्चिम राजमार्ग चार लेनको बनाइनु लगायतका संरचना निर्माणमा छुट्टाइएको बजेट महत्वपूर्ण रहेको उनको भनाइ छ। ‘१० लाख पर्यटक भित्र्याउने भनिएको छ। त्यति मात्रै होइन। यहाँ पूर्वाधार र संरचना निर्माण गर्न सकेमा चाइना र भारतबाट मात्रै ५० लाख पर्यटक ल्याउन सकिन्छ,’उनले भने।
अहिलेको बजेटले विकास आयोजनालाई अगाडि बढाउनका लागि प्रष्ट खाका ल्याएको भन्दै कार्यान्वयनमा लैजान सके त्यसले समग्र मुलुकको विकास हुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।