काठमाडौं– शिल्पी थिएटरमा शनिबार भएको एक कार्यक्रममा कवि हरिशरण परियारको कविताकृति ‘कैंची’ को विमोचन भएको छ।
उक्त कविताकृतिको लेखक तथा विश्लेषक आहुति, उज्ज्वल प्रसाईं र विभूति भट्टराईले विमोचन गरेका हुन्। यो पुस्तक कवि परियारको पहिलो कविताकृति हो। साहित्यिक आन्दोलन ‘उन्मुक्त पुस्ता’मा आबद्ध परियारको यसअघि संयुक्त कृति ‘आफर’ र ‘रोअरिङ फ्लेम्स्’ प्रकाशित छन्।
विमोचित कृतिमाथि बोल्दै लेखक तथा विश्लेषक आहुतिले हरिशरण परियारका कविता विभेदमाथि आक्रामक भएको बताए। कवि परियारले कैंचीलाई नवीन बिम्बका रूपमा प्रयोग गरेको उनको भनाइ थियो।
‘कविता सशक्त छन्, हरिशरणलाई कसैले अब कवि भनेर टीका लगाइदिनु पर्दैन,’ आहुतिले भने, ‘अब वैचारिक बहस घनिभूत पारिनु जरुरी छ। वैचारिक कित्ता स्पष्ट हुने गरी छलफल हुनु जरुरी छ।’
त्यसैगरी, अर्का वक्ता उज्ज्वल प्रसाईंले कवि परियारले पुशपंक्षीको पुरातन बिम्ब र हतियार मोह प्रस्तुत गरेको बताए। ‘गिद्धले कुनै दिन मान्छेमाथि कविता लेख्यो भने के लेख्छ? कविलाई चिल मन पर्ने र गिद्ध मन नपर्ने कारण किन?’ उनले भने, ‘कविको कवितामा विद्रोह मात्र नभएर प्रेमका मिठो र सालिन बिम्ब पनि प्रयोग भएको छ।’
अर्का वक्ता विभूति भट्टराईले कवि परियारले प्रयोग गरेका सामान्य शब्दले ठूलो बिम्ब बोक्ने बताइन्। सामान्य र सरल भाषामा कविले कवितामार्फत विद्रोह बोलेको उनको भनाइ थियो। यो कृति बेला पब्लिकेसन्सले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।