काठमाडौं- सहिद स्मारक सी डिभिजन लिगअन्तरगत पुल्चोक स्पोर्टस क्लबविरुद्धको खेलमा अनुशासनहिन काम गरेको भन्दै आरसी ३२ फुटबल एकेडेमीका तीन जना खेलाडीलाई प्रतिबन्ध लगाइएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन कमिटिले सी आरसी ३२ का खेलाडी अनिश श्रेष्ठलाई २ वर्षको प्रतिबन्ध लगाएको छ। त्यस्तै, खेलाडी बिदुर रिजाल र प्रविन राईलाई एक वर्षको प्रतिबन्ध लागेको छ।
यस्तै, आरसी ३२ लाई १ लाख ५० हजार जरिवाना गरिएको छ। एन्फाले टिम अफिसियल सन्जिव कार्की र टिम म्यानेजरलाई बाँकी खेलमा प्रतिबन्ध लगाएको छ।
यता, एन्फाले अफिसियल रविन्द्र चन्दलाई फुटबल गतिविधिमा एक वर्षको प्रतिबन्ध लगाइएको छ। क्लबका पूर्व अध्यक्ष रहेका रविन्द्र सुर्खेत जिल्ला फुटबल संघको नवनिर्वाचित अध्यक्ष समेत हुन्।
लिग अन्तर्गत गत आइतबार पुल्चोक स्पोर्ट्स क्लबविरुद्धको खेलपछि आरसी ३२ का खेलाडी र अफिसियल म्याच रेफ्री र अफिसियलविरुद्ध हातपातमा उत्रिएका थिए। जुन खेल २-२ गोलको बराबरीमा सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।