काठमाडौं–दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार कलाकार हुन्, महेश बाबु। उनी एउटै फिल्ममा गरेको अभिनयका लागि करोडौं पारिश्रमिक लिन्छन् भने उनका फिल्मले पनि प्रदर्शनमा सैयौं करोड आम्दानी गर्छन्।
हाल भारतमा हिन्दी फिल्म उद्योग (बलिउड) र दक्षिण भारतीय फिल्म उद्योगबीच प्रतिस्पर्धा चलिरहेको छ। दक्षिण भारतीय फिल्मले हिन्दी फिल्महरुको तुलनामा सैयौं गुणा धेरै दर्शक र पारिश्रमिक पनि पाइरहेका छन्। यस्तो अवस्थामा अभिनेता महेश बाबुले बलिउडलाई लिएर एउटा अभिव्यक्ति दिएका छन्।
एक फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेका अभिनेता बाबुले आफूलाई बलिउडले अफोर्ड गर्न नसक्ने बताएका हुन्। उनले हिन्दी फिल्ममा काम गरेर आफ्नो समय बर्बाद गर्न नचाहने बताउँदै यस्तो भनेका छन्।
‘मलाई दक्षिण भारतीय फिल्म उद्योगमा धेरै मान सम्मान दिइएको छ,’ उनले भनेका छन्, ‘म हिन्दी फिल्ममा काम गरेर आफ्नो समय बर्बाद गर्न चाहँदिन। उनीहरु मलाई अफोर्ड पनि गर्न सक्दैनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।