महेन्द्रनगर– जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्ट स्थानीय तहको निर्वाचन गराउन यहाँको भीमदत्त नगरपालिका–११ स्थित मतदान केन्द्रमा खटिएका छन्। यस्तै खेलप्रशिक्षक र कार्यालय प्रमुखलाई निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत बनाएर जिल्लाभर परिचालन गरिएको छ।
यहीबीच प्रदेश खेलकुद परिषद्ले आगामी जेठ ५ गतेभित्र नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीको नामावली पठाइ सक्नुपर्ने परिपत्र जारी गर्दा खेलक्षेत्र अन्योलमा छ। आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ। तर त्यसको तयारी भने जिल्लामा शून्य छ।
‘प्रदेश खेलकुदमार्फत राखेपबाट जेठ २ र ३ गते प्रतियोगिताका लागि जिल्लाको छनोट गर्नुपर्ने पत्र आएको छ,’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भट्टले भने, ‘प्रशिक्षकसहित हामी चुनावमा खटिएका छौँ, थोरै समयमा खेलकुदको धेरै तयारी गर्नुपर्ने अवस्था छ।’
राष्ट्रिय प्रतियोगितामा हुने कुल ३८ खेलमध्ये यहाँबाट ३० खेलका खेलाडी सहभागी हुने भए पनि उनीहरुले चाहेजस्तो प्रशिक्षण भने पाउन सकेका छैनन्। जेठमै कक्षा १२को परीक्षा सञ्चालन हुँदैछ। सबै खेलाडी राष्ट्रिय प्रतियोगितामा सहभागी हुनसक्ने सम्भावना कमै देखिन्छ। ‘खेलाडी धेरैजसो परीक्षाको तयारीमा छन्, निर्वाचनले पनि प्रशिक्षण प्रभावित बनेको छ,’ यहाँका एक खेल प्रशिक्षकले भने, ‘राष्ट्रिय प्रतियोगिताको घोषणा त गरियो, तर सबै कुरा बुझेर गरे जस्तो लागेन।’
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले केन्द्रको निर्देशन र सर्कुलरअनुसार यहाँ खेलाडीको छनोटका लागि तयारी भइरहेको बताए। ‘जिल्लामा जेठ २ र ३ गते छनोट गरेर नामावली प्रदेशमा पठाउन भनेका छौं,’ उनले भने, ‘प्रदेशमा जेठ १० गतेभित्र खेलाडी छनोट गरिसक्न निर्देशन दिएका छौं।’ खेलाडी छनोटका लागि निर्देशिका र रकम भने राष्ट्रिय खेलकुद परिषद्बाट प्राप्त नभएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।