काठमाडौं– बहुप्रतिक्षित हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’को टिजर सार्वजनिक भएको छ। २००९ मा प्रदर्शनमा आएको फिल्म ‘अवतार’को सिक्वेल रहेको फिल्म ‘अवतारः द वे अफ वाटर’को टिजर सोमबार सार्वजनिक भएको हो।
फिल्मलाई जेम्स क्यामरुनले निर्देशन गरेका छन्। फिल्मको टिजरमा नदीमुनिका विभिन्न जीवहरुसँगको कथालाई प्रस्तुत गरिएको छ। टिजरमा सुलि परिवारका जेक, नियतिरी र उनीहरुका सन्तानको संघर्ष र जीवनका लागि लडाईंलाई प्रस्तुत गरिएको छ।
फिल्ममा सोइ साल्डना, सेम वरिङटन, सिगौरने विभर, स्टेफेन ल्याङ, क्लिफ कर्टिसलगायतका स्टारहरुको अभिनय छ। फिल्मलाई निर्देशक केमरुन र जोन लन्डानौले संयुक्त रुपमा निर्माण गरेका छन्।
१३ वर्षअघि प्रदर्शनमा आएको ‘अवतार’को सिक्वेल ‘अवतारः द वे अफ वाटर’ अत्याधिक महंगो बजेटमा निर्माण भएको फिल्म हो। फिल्म कूल ३० अर्ब ५३ करोड ४४ लाख ५० हजार रुपैयाँ अर्थात २५० मिलियन अमेरिकी डलरमा निर्माण भएको छ।
डिसेम्बर १६ मा प्रदर्शनमा आउने भनिएको यो फिल्म विभिन्न प्रयोगहरुले भरिएको छ। फिल्मका दृश्यहरुलाई पानीमुनि खिचिएको छ भने विज्ञानको अलौकिक दुनियाँ र त्यसभित्रको संघर्षको कथाले फिल्म भरिएको छ।
हेर्नुहोस् टिजर :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।