पोखरा-स्वीडेनका जोन हसलमार्कले पहिलो हिमालयन एक्सट्राइ ट्रायथलोनको उपाधि जितेका छन्। ३.८ किमि पौडी, १८० किमि साइक्लिङ र ४० किमि दौड पुरा गर्नुपर्ने कठिन मानिने साहसिक हिमाली दौड हसलमार्कले समग्रमा १६ घण्टा ८ मिनेट १२ सेकेन्डमा पूरा गरेका हुन्।
उनले फेवातालमा सम्पन्न ३.८ किमि पौडी सक्न ४८ मिनेट ६ सेकेण्ड लगाएका थिए भने १८० किमि साइक्लिङ सक्न ६ घन्टा १ मिनेट ३१ सेकेण्ड तथा ४० किमि दौड पुरा गर्न ९ घन्टा १२ मिनेट ४३ सेकेण्ड लगाएका थिए।
त्यस्तै चेक गणतन्त्रका फिलिप सोल्क दोस्रो भए। उनले १६ घण्टा २९ मिनेट २६ सेकेन्डमा पूरा गरे। चेक गणतन्त्रकै पिटर भाब्रोसेकले १६ घण्टा ४० मिनेट ५७ सेकेन्डको समयमा दौड पूरा गर्दै तेस्रो स्थानमा आउन सफल भए।
खेलाडीहरुले प्रतिस्पर्धामा लगाएको समयबाहेक उनीहरुले पौडीबाट साइक्लिङ र साइक्लिङबाट दौडिने स्थानमा पुग्ने समय पनि जोडिने गर्छ।
उपाधि जितेपछि स्वीडिस हसलमार्कले भने, 'यो प्रतियोगिता अन्य देशको भन्दा निकै कठिन र रोमाञ्चक थियो, यो प्रतियोगितामा सहभागीले धेरै नयाँ कुरा सिक्ने र अनुभव गर्ने अवसर पाएँ।'
बिहान ४ बजे पोखराको फेवातालबाट प्रतियोगिता शुरु भएको थियो। जहाँ खेलाडीहरुले ३.८ किमीको दूरी पौडेका थिए।
त्यसपछि १८० किमिको साइकल दौड सुरु भएको थियो। साइकल रेस पोखरा भुपी शेरचन राजमार्ग हुँदै बाग्लुङको कालिका मन्दिर र त्यहाँबाट फर्केर पोखरा २५ हेम्जा मिलनचोक हुँदै कास्कीको माछापुच्छ्रे लुम्रेमा पुगेर टुंगिएको थियो।
लुम्रेबाट ४० किमि उकाली ओराली दौड सुरु भएको थियो। दौड पर्यटकीय गन्तव्य मर्दी हिमाल हाइक्याम्पको ४ हजार मिटरलाई छुँदै फर्किएर कास्कीको माछापुच्छ्रेस्थित ल्वाङमा पुगेर अन्तिम दूरी पूरा गरेका थिए।
यसै गरी नेपालबाट सहभागी सन्तोष राई २० घन्टा ५८ मिनेट १० सेकेण्डमा पुरा गर्दै १० औं स्थानमा आएका छन्। रेसमा सहभागी नेपाली महिला खेलाडी सोनी गुरुङ केही मिनेट ढिला हुँदा मर्दी हिमालको ४ हजार मिटरको उचाइ छुन भने असफल भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।